टानको अध्यक्षमा नवराज दाहाल निर्वाचित
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका थिए । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेका टान निर्वाचन समितिले जनाएको छ । टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताए । गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहेका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक छन् । रासस
माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धकमा सन्तोष कोइराला र अर्जुन थापा
काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला तथा अर्जुन थापा बढुवा भएका छन् । बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरी कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा बढुवा गरेको हो । कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए भने सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका थिए । कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् । त्यसैगरी, थापाले तत्कालिन ग्रिण्ड्लेज बैंकबाट सन १९९२ बाट करियर शुरु गरेका थिए भने माछापुच्छ्रे बैंकमा स्थापना काल देखि नै आबद्ध थिए । थापाको कर्जा लगानी, रिस्क म्यानेजमेन्ट लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता रहेको छ । थापाले यसै बैंकको पोखरा क्षेत्रको क्षेत्रीय प्रबन्धकको रुपमा समेत काम गरेका थिए । कोइरालालाई हाल बैंकको सम्पूर्ण ’बिजिनेस’ तथा थापालाई बैंकको ’संचालन’ हेर्ने जम्मेवारी पनि दिईएको छ ।
एनबीआईको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला
काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ । संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका नायवप्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् । पूर्वबैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जनाएको छ ।