मेगा बैंकको कामु सिईओमा अनुपमा खुञ्जेली नियुक्त

काठमाडौं । मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त खुञ्जेलीले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । यसअघि खुञ्जेली मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।

जितेन्द्र अरोरा बने स्ट्याण्डर्ड चाटर्ड बैंकको नयाँ अध्यक्ष

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले सपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् । अरोरालाई नै बैंकको कम्पनी सचिवको जिम्मेवारी पनि दिइएको छ । अनन्थ नारायणको कार्यकाल पुरा भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकले अरोरालाई अध्यक्ष बनाएको हो । सन २००१ मा बैंकमा प्रवेश गरेका अरोराले आसियान तथा दक्षिण एसियाको क्षेत्रिय प्रमुखका साथै कमर्सियल बैंकिङको ग्लोबल हेडका रुपमा ९ देशहरुको जिम्मेवारी सम्हालिरहेका थिए ।  

सिनर्जी पावरको सञ्चालकमा ६ जना निर्वाचित, अध्यक्षमा विष्णुराज अधिकारी

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ । साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सोही बैठकले संस्थापक समूह कै सञ्चालक सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, कम्पनीको संस्थापक समूहबाट अरुणसिंह बस्नेत र कल्याण विष्ट सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, प्रकाश अधिकारी र गोपालप्रसाद आचार्य सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।