आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि अर्याल, पुँजी बढाउन सेयर जारी गर्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रामहरि अर्याल चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साथै, सोही दिन सम्पन्न इन्स्योरेन्सको पहिलो वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको छ । नवनिर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरेका छन् । लैनचौरमा सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिका अध्यक्ष अर्यालले कम्पनीले आम मानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथालाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी दिएका छन् । उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३/७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । नियमनकारी निकाय बीमा समितीको प्रावधान अनुसार २०७५ साल असार मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने रहेको छ । सो प्रावधानअनुरुप कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरी पुँजी वृद्धि गर्ने बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । श्रेष्ठले आगामी चार वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।

एसबिआई बैंकको अध्यक्षमा सुजितकुमार बर्मा चयन

काठमाडौं । नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई चयन गरेको छ । बैंकको हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको हो । अध्यक्ष बर्मा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकका संसारभर विभिन्न मुलुकहरुमा रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले अध्यक्ष बर्मालाई गर्भनरको सचिवालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, निर्देशकहरु रमण नेपाल, बमबहादुर मिश्र र रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।