बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संस्था परिसंघको कार्यसमिति बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरिसकेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० श्रीचौरका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता थिए । उनी पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकको जिम्मेवारीमा थिए । अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग«याजुएट र सन् २०१४ देखि बिजनेस स्कुल अफ नेदरल्यान्डस्मा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्था मा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरका रुपमा पनि उनी आवद्ध छन् । महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्पmत वित्तीय तथा विभिन्न क्षेत्रमा खोज अनुसन्धान पनि गरेका छन् भने उनका अनुसन्धानात्मक लेखहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरुको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९औं वार्षिक साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र वैठकहरुमा सहभागिता जनाइसकेका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास लिइएको बैंक तथा वित्तीय संस्था परिसंघको छ । देशभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको बीचमा आपसी सम्पर्क तथा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ्ग सेवालाई दुरदराजसम्म विकास तथा विस्तार गर्ने, सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुसँगको सहकार्यमा विद्यमान आर्थिक नीतिगत सुधारका लागि पृष्ठपोषण तथा पैरवी गर्ने, देशको समग्र बैंकिङ्ग सेवामा सर्वसाधारणको पहुँच एवं विश्वसनियता बढाउने र निक्षेपकर्ता तथा लगानीकर्ताहरुको सम्बद्र्धन गरी देशले लिएको आर्थिक समृद्धिको आकांक्षा पुरा गर्ने जस्ता उद्देश्यहरु बैंक तथा वित्तीय संस्था परिसंघको छ ।
सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की
काठमाडौं । डा. रेवतबहादुर कार्की सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले साेही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । बोर्डमा ४ वर्षे कार्यकाल सकेर बिदा भएका कार्कीले त्यसअघि बाेर्डकै सञ्चालकको रुपमा जिम्मेवार सम्हालेका थिए । साथै, उनले वाणिज्य बैंककाे अध्यक्ष, मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक र नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक भई काम गरेका थिए । यससँगै उनले अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका थिए । डा. नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । डा. कार्कीले भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।
लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे
काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २ गतेदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।