ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।
बेष्ट फाइनान्सको सञ्चालकमा प्रधान र ढकालको कार्यकाल अनुमोदन
काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बिहीबार सम्पन्न संस्थाको २३औं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको छ । संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालकमा रेग्मी र बैकल्पिक सञ्चालकमा ढकाल नियुक्त
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक सेयरधनीहरुको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेको लुम्बिनी विकास बैंकको तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको सट्टामा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई बैकल्पिक सञ्चालकमा नियुक्त गरेको हो ।