वोमी लघुवित्तको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानद्वारा सपथ ग्रहण
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । प्रधान २०७७ असार १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिईन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा वोमी लघुवित्तका सञ्चालक बिमला उपाध्याय घिमिरेको उपस्थिति रहेको थियो । वोमी लघुवित्तले नागरिक लघुवित्तलाई गाभेर मिति २०७६ मंसिर ३० गतेदेखि एकिकृत वित्तीय कारोवार शुरु भएको हो । दुई संस्था मर्जर पश्चातको उक्त आठौं साधारण सभा एकिकृत रुपमा सम्पन्न भएको छ ।
उन्नती सहकार्य लघुवित्तको सीईओमा प्रेम बहादुर पाठक नियुक्त
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रेम बहादुर पाठक नियुक्त भएका छन् । असार २६ गते बसेको संस्थाको सञ्चालक समितिको १५० औं बैठकले उनलाई आगामी ४ (चार) वर्षसम्मका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पाठकले असार २६ गतेदेखि नै लागु हुने गरी आफ्नाे कार्यभार सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस उन्नती सहकार्य लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भए पश्चात उन्नति सहयकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । सोहि नामबाट गत असार २६ गते शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार शुरु भएको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको सञ्चालकमा ५ जना निर्वाचित, बाबुराम विश्वकर्मा बने अध्यक्ष
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । असार २७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ५ जनालाई निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा र मान बहादुर विश्वकर्मालाई संस्थाको सञ्चालक पदमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट नरेन्द्र कडेल र गोकर्ण बहादुर कार्की क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उक्त सभा पश्चात बसेको साँझ बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक विश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।