प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको साधारण सभा बाराको सिमरा स्थित होटेल इच्छा प्रा. लिमा भएको थियो ।
खानेपानी विभागको पहिलो महिला महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त
काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन् । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत थिइन् । यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए । श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ थिए । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।’ प्रवक्ता शाक्यले भने । निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाईएको छ । मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन् । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल भएकी छिन् । वरिष्ठताको आधारमा पनि अगाडि रहनुभएकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ । विभागमा हालसम्म करिव दुई दर्जन जति महानिर्देशक हुँदा पहिलोपटक महिला महानिर्देशक नियुक्त हुनुमा मन्त्री मगरकै चाहाना प्रमुख रहेको मन्त्रालय स्रोतले बतायो । यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्। वि.सं २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी छिन् । नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरे । २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन् । स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उनी २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी हुन् । सरकारको अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएका तथा महिलालाई अवसर नदिएको जस्तो आरोप लागिरहेको समयमा खानेपानी विभागमा भने वरिष्ठता र महिला दुवै विषयको सम्मान गर्दै श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी सुम्पिएपछि विभागकै अन्य कर्मचारीहरुले पनि मन्त्रीको प्रशंसा गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुशासनको पैरवी गर्दै आएका खानेपानी मन्त्रालयका पूर्व सचिव भीम उपाध्याय अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएको तथा सम्मान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको समयमा खानेपानी विभागमा वरिष्ठतालाई मन्त्रीले सम्मान गर्दा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् । ‘पछिल्लो समय सरकारले गरेको नियुक्तिमा निकै विवाद आइरहेको बेला खानेपानी मन्त्रीले वरिष्ठ कर्मचारीलाई विभागको जिम्मेवारी दिनु सकारात्मक छ । यसले त्यहाँ कार्यरत अन्य कर्मचारीलाई पनि मोटिभेसन हुन्छ र परिणाम पनि सकारात्मक आउँछ’, उपाध्यायले भने । श्रेष्ठले आफुलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताइन् । ‘पक्कै पनि विभागको प्रमुख हुँदा काम गर्ने अवसर र चुनौतीहरु धेरै छन् । तर, मन्त्रीज्यू, मन्त्रालयको सहयोग, मेरो अनुभव र सबै कर्मचारीहरुको सहयोगबाट लक्ष्य पूरा गर्न सफल हुने ठानेकी छु’, उनले भने । आफूले मन्त्रालय र मन्त्रीको स्पिडसँग काम गर्दै विभागलाई त्यही अनुरुप अघि बढाउने स्पष्ट पारे। पछिल्लो समय कोभिड–१९ को महामारीले सरसफाइको महत्व थप स्पष्ट पारेको बताउँदै श्रेष्ठले ‘वाटर सप्लाई र स्यानिटेसन’को क्षेत्रमा मुख्य रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । ‘कोभिड महामारीले पनि हामीलाई सरसफाई, पानीको उपयोग, ढल व्यवस्थापन जस्ता विषयमा महत्वपूर्ण सन्देश दिएको छ । यी क्षेत्रमा विभागले प्रभावकारी ढंगले काम गर्नुपर्छ र यसमा विभाग पूर्णरुपमा लाग्नेछ’, श्रेष्ठले भने । विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ । विभाग अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, गुण, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन् । विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई र वासमिप आयोजनाहरु सञ्चालनमा रहेका छन् । रासस
लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त
काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण लिएका छन् । नेपाल २०७५ फागुनदेखि साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । नागरिक लगानी काेष लक्ष्मी बैंककाे प्रवर्धक सेयरधनी हाे । काेषकाे लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेकाे छ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।