पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त, लम्सालको बिदाई
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरीय निर्णयले झालाई कम्पनीको सञ्चालक समितिकाे सदस्यमा नियुक्त गरेको हो । यसअघिका सञ्चालक रमेश लम्साललाई कम्पनीको सञ्चालकबाट बिदाई गरिएसँगै उक्त पदमा झालाई नियुक्त गरिएकाे हाे । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार उनलाई कम्पनीको सदस्य पदबाट बिदाई गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, लिए शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडाैं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको रहनेछ । उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिंडारी थिए । न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एशोसिएशनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसकेका छन् । उनी यसैगरी, नागरिक ट्रष्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध छन् । उनी शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् । अर्थविज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायी न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । हाल उनी माछापुच्छ्रे बैंकका सञ्चालक समेत छन् । उनीसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरीमा महाप्रबन्धकका रुपमा दुई दशक लामो समय काम गरेको अनुभवसमेत छ । उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । सरकारले दुई वर्षपछि आफूलाई महाप्रबन्धकमा नियुक्त गरेको न्यौपानेले जानकारी दिए ।