भूकम्पबाट प्रभावित १४ जिल्लामा ८०० खानेपानीका योजना निर्माण सुरु
हेटौँडा, २ मङ्सिर । मकवानपुरमा भूकम्पबाट भत्किएका खानेपानी र सरसफाइको क्षेत्रमा काम सुरु गरिएको छ । भूकम्पका कारण पूर्ण र आंशिक रुपमा क्षति पुगेका १४ जिल्लामा ८०० वटा खानेपानी योजना निर्माणअन्तर्गत मकवानपुरमा पनि काम सुरु भएको हो । सरकारी स्वामित्वमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले भूकम्पबाट प्रभावित जिल्लालाई लक्षित गरेर खानेपानी र सरसफाइको क्षेत्रमा क्षति पुगेका सबै संरचना निर्माणको काम सुरु गरेको हो । पहिलो चरणमा समितिले ४६८ वटा खानेपानी योजना सुरु गरिसकिएको र केही समयपछि अरु बाँकी योजनाको काम सुरु गर्ने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले जानकारी दिए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डको आयोजनामा मध्यमाञ्चल र पूर्वाञ्चलका विभिन्न जिल्लाका इन्जिनियरलाई हेटाँैडामा पाँच दिनसम्म खटाइएको छ । खानेपानीका योजनासँगै समितिले सबै घरमा शौचालय, खानेपानीका धारा, सार्वजनिक निकाय गाविस, नगरपालिका, स्वास्थ्य संस्था, विद्यालय, सामुदायिक भवन सबैमा खानेपानी र सरसफाइको क्षेत्रमा पूर्ण रुपमा काम गर्न सुरु गरिसकिएको कार्यकारी निर्देशक अर्यालले बताए । भूकम्पबाट प्रभावित १४ जिल्लाका प्रत्येक घरमा शौचालय निर्माण, प्रत्येक घरमा धारा निर्माण गर्ने गरी काम सुरु गरिएको हो । यसैगरी देशका ७४ वटा जिल्लामा समितिले एक घर एक धारा, एक घर एक चर्पी भन्ने अवधारणाका साथ काम सुरु गरिएको फन्डबोडका मानव संशाधन महाशाखाका प्रमुख टीका अधिकारीले जानकारी दिए । पहिले गाउँका एकवटा टोलमा एउटा धारा निर्माण गरेर केही चर्पी निर्माण गरिए पनि अबको समयमा प्रत्येक घरमा धारा जडान गर्ने नीतिका साथ काम सुरु गरिएको बताउँदै उनले भने “हामी अब टोलमा हैन सबै नागरिकलाई खानेपानी र सरसफाइको क्षेत्रमा सुविधा दिने गरी प्रत्येक घरघरमा यो सुविधा दिन लागेका छौ ।” हेटौँडामा प्राविधिकलाई तालिम दिएर यो काम सुरु गर्न लागिएको उनले बताए । यसको मुख्य अभियान भनेको खानेपानी र सरसफाइको क्षेत्रमा सबै जिल्लामा प्रभावकारी रुपमा काम गर्ने नै हो ।” समितिले सिधै आफैँ गएर गाउँमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नुभन्दा पनि रकम स्थानीय उपभोक्ता समितिको खातामा हाली दिने र समितिमार्फत गैरसरकारी संस्थाबाट प्राविधिक सहयोगको काम मात्र गर्दै आएको छ । सिधै स्थानीय उपभोक्ता समितिको खातामा रकम जाँदा उनीहरुलाई काम गर्नका लागि पनि सजिलो हुने र प्राविधिक रुपमा कसरी काम गर्ने भनेर सहयोग पु¥याउँदा सजिलो हुने भएकाले यसरी नै काम गरिएको उनले बताए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले यो दुई वर्षको अवधिमा आफ्नो कार्य क्षेत्रका ४०० वटा गाविसलाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त गाविस तयार गर्ने गरी काम अगाडि बढाइएको छ । जहाँ खानेपानीको काम सुरु भएका छन् त्यहाँ सरसफाइका लागि पनि बोर्डले काम गरेको छ । सन् २०२० सम्मको पाँच वर्षको अवधिमा खानेपानीमा १५ लाख र सरसफाइमा १० लाख जनतालाई लाभान्वित हुनेगरी काम गर्ने तयारी भएको छ । मकवानपुरमा हालसम्ममा यसअघि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले ११९ वटा खानेपानीका योजना सकिसकेको छ । जिल्लाको सबै गाविसमा सञ्चालन भएका योजनाबाट एक लाख एक हजार १५० जना नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको बोर्डको काममा प्राविधिक रुपमा सहयोग गरेको सल्भ नेपालका कार्यक्रम संयोजक सरोज पोख्रेलले बताए । खानेपानीको ठूलो समस्या भोगिरहेका अति प्रभावित गाउँलाई लक्षित गरेर खानेपानीका योजना सञ्चालन गरिएको थियो । यो योजना सञ्चालन भएपछि मर्मत सम्भार गर्ने निर्माण गर्ने काममा स्थानीय उपभोक्ता नै अग्रसर भएर काम गरेका थिए । रासस
पृथ्वीराजमार्गमा दुई हजार ५० वटा गाडीमा व्यवसायीहरुको पाँच अर्व लगानी
पोखरा, २ मङ्सिर । मुलुकको मेचीदेखि महाकालीसम्मका सडकमा बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको पृथ्वीराजमार्ग बस व्यवसायी समितिमा हालसम्म व्यवसायीको पाँच अर्ब रुपैयाँ भन्दा वढी लगानी भइसकेको छ । विसं २०२९ मा सीमित सवारीसाधनलाई लिएर स्थापित समितिमा हाल मिनीबस, माइक्रोबस, नर्मल तथा डिलक्स एसी सेवासहित एक हजार दुई सय ५० वटा गाडीमा व्यवसायीको उक्त रकम लगानी भएको पृथ्वी राजमार्ग बस व्यवसायी समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारीदिए । पृथ्वी राजमार्ग बस व्यवसायी समितिअन्तर्गतको सेवा प्रवाहका क्रममा तीन हजार ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिँदै उनले पछिल्लो समयमा अत्यधिक सेवा सुविधासहितका यातायात सेवा पनि सञ्चालन गर्न लागिएको बताए । उनले समितिअन्तर्गत शुभ अधिकारी ट्राभल्स प्रालिले यही मङ्सिर ६ गतेदेखि पृथ्वी राजमार्गअन्तर्गत पोखरा–काठमाडौँका लागि सुविधासम्पन्न दुईवटा बस सञ्चालन गर्न लागिएको जानकारी दिए । काठमाडौँको गौशाला र पोखराको हल्लनचोकबाट दैनिक सञ्चालन हुने ३१ सिट क्षमताको उक्त बसमा पत्रपत्रिका, मिनरल वाटर, निःशुल्क वाइफाइ, टेलिभिजन लगायतको सुविधा रहने र भाडादर जम्मा पाँच सय रुपैयाँ कायम गरिएको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । महासचिव केसीका अनुसार वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न समितिले २००३ मोडल भन्दा अघिका सम्पूर्ण गाडी विस्थापित गरिसकेको छ भने गाडी विस्थापन गराउनका लागि व्यवसायीलाई पर्ने मर्कालाई दृष्टिगत गरी प्रतिगाडी रु ६ लाख ५० हजार आर्थिक सहयोग गर्ने गरिएको छ । समितिले स्थानीय कृषि र विद्यार्थीलाई लक्षित गरी कास्की, लम्जुङ, गोरखा, स्याङ्जा र तनहुँ जिल्लाका ग्रामीण सडकमा एक सयवटा गाडीबाट सुविधा दिइरहेको र समितिअन्तर्गत नै पोखरा–दिल्लीका लागि २२ वटा सुविधा सम्पन्न बस सञ्चालन गरिएको महासचिव केसीको भनाइ छ । रासस
विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग
पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए । सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस