काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हजार बढी नागरिकले सीमा पास लिएका छन् । वि.सं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्का नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए ।
उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि १ हजार ३३८ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमा पास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताए ।
त्यसैगरी, हालसम्म ६४८ जनाले सीमा पास नवीकरण गरेका छन् । सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजावत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिका भित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् ।
भोटखोला गाउँपालिकाका-१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब ५ हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।
कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।
उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट २ दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी-किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।