ठग्न नपाएपछि आन्दोलन, मिटर विगारेर ठग्नेलाई कारवाहि गरिएको विरोधमा ट्याक्सी जाम

काठमाडौं १२, असोज ।  बैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्‍यो । बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्‍यो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा पर्ने गरेका छन् । तर मंगलबार भने कुनै पनि ट्याक्सी चालक कारवाहीमा परेनन् । किनभने मंगलबार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् । यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारवाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको समाचार बुधबारको कान्तिपुरमा छापिएको छ। उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा पुर्‍याउन अनुरोध गर्दा नमानेपछि कारवाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म रु’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गरेरै छोड्ने उनले चेतावनी दिए।

साल्ट ट्रेडिङले ९ रुपैयाँमा बेच्ने नुन तिव्बती सीमाका दुर्गम गाँउमा १ सय ७० रुपैयाँसम्म, नुन पनि सुन जस्तै महंगो

काठमाडौं १२, असोज । तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो । ढुवानी भाडाले आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । ‘नुन पनि सुनजस्तै महँगो भयो, आयो नुन त अब हुनेखानेले मात्र प्रयोग गर्छन्,’ काँडा धुली गाउँका लालसिंह बोहराले भने, ‘महँगो भएकाले सबैले त्यो नुन खान सक्ने अवस्था छैन ।’ गाउँका केही परिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरिरहेको र अरू बाँकी तिब्बती ढिके नुनकै भरमा बाँचिरहेको उनले बताए । तिब्बतबाट भेडामा ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ छ । आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ । खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो भएको यहाँका व्यापारी जयपाल लामाले बताए । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनको भनाइ छ । ‘भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न जान्छ,’ उनले भने, ‘भाडा नै त्यति तिरेपछि हामीले कतिमा बेच्नु रु यहाँ पोकाको नुन खान सक्ने परिवार नै कम छन् ।’ खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको समाचार बुधबारको कान्तिपुरले छापेको छ ।

आज ३७ औं विश्व पर्यटन दिवस, पर्यटकलाई छुट र स्वागतको ओइरो

काठमाडौं ११, असोज । आज विश्व पर्यटन दिवस नेपालले पनि धुमधामसाथ मनाइरहेको छ । सरकारले आजको यो दिवसालाई पर्यटकीय गतिविसहित विश्व पर्यटन दिवस भव्यताका साथ मनाउँने निर्णय यस अधि नै गरेको थियो । विभिन्न ३२ वटा पर्यटकीय संघसंस्थासँगको सहकार्य र समन्वयमा औपचारिक रुपमै ३७ औं विश्व पर्यटन दिवस मनाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए । उनका अनुसार विहानै ठमेलेको संचयकोषबाट र्याली निकालेर शान्तिपूर्ण पदयात्रासहितको कार्यक्रम सुरु भएको छ । मंगलबार दिनभर नै यो दिवसको कार्यक्रम हुने भएको छ । विमानस्थलमा आज पहिलो उडानमार्फत आउने सबै पर्यटकलाए खादा लगाएर स्वागत गर्ने, होटल माहासंघ नेपाल अन्तगरतका सबै होटलमा २० प्रतिशत छुट, ठूला होटलहरुको संस्था होटल संघ नेपालको विशेष छुट, विभिन्न पर्यटन व्यवसायीक संस्थाले पनि छुट र विशेष अफर ल्याएको जानकारी दिएका छन् । हरेक वर्ष २७ सेप्टेमवरका दिन मनाइने यो दिवस यस वर्ष पनि विभिन्न जिल्ला र क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्दै भव्य रुपमा सम्पन्न गरिदै आएको छ । पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका पर्यटकी संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम हुँदै आएको छ । विश्व पर्यटन दिवसमा दिन विभिन्न पर्यटकीय संस्थाले पर्यटकीय सेवा दिने विशेष छुट, पर्यटकीय गतिविधि, ¥याली, झाँकीसहितका कार्यक्रम विहानैबाट सुरु भएको छ । पर्यटकीय संस्था सबैले आफ्नो क्षेत्र र कार्यप्रकृति अनुसारका पर्यटनको गतिविधि गरिरहेको पर्यटन सचिव अधिकारीको भनाइ छ । पर्यटन बोर्डमा हुने आजको कार्यक्रममा उत्कृष्ट पर्यटन गाँउ घोषणा, घुमफिर वषृ २०७३ का लागि नयाँ गाउँ घोषणासहितका कार्यक्रम हुने भएको छ ।