नेतृत्वविरुद्ध भ्रम फैलाएको भन्दै कान्छारामसँग कांग्रेसले माग्यो जवाफ

काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

पार्टी नेतृत्व र संगठनविरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै समितिले उनलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।

केन्द्रीय कार्यालयमा आज संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको केन्द्रीय अनुशासन समितिले उक्त निर्णय गरेको हो ।

अनुशासन समितिका अनुसार जिल्ला सभापतिजस्तो जिम्मेवार पदमा रहेका तामाङले पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए । 

उनको उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क, ख, ग, ङ र च) बमोजिम अनुशासन उल्लंघन भएको समितिले ठहर गरेको छ ।

बैठकले विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तामाङलाई ३ दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न पत्र काट्ने निर्णय गरेको छ । 

Share News