कास्कीमा एकैदिन ४० जनालाई कारबाही

काठमाडौं । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।   वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका-१७ दोबिल्लामा जाँच गर्दा मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो ।  पोखरा-२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरी सवारीसधान चलाएका नौ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।  यस्तै, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा–१६ अकलामा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने एक जना, मापसे गरी सवारीसाधन चलाएका तीन जना र ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनालाई कारबाही गरिएको हो ।  माछापुच्छ्रे गाउँपालिका-८ भेडाभारीमा मापसे गरी सवारीसाधन चलाएका चार जना, स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउने एक जना र ट्राफिक नियम उल्लङ्घन गर्ने छ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।  गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित कुकुरसहितको टोलीले सवारीसाधनको जाँच गरेको थियो । प्रहरीले रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागुऔषध सेवन र जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै आएको छ ।  मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाई अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियायाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रकृया अगाडि बढाउने गरिएको छ ।   

दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडाै । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् । पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ । डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ । विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ । ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।  

सवारी दुर्घटनामा एक जनाको मृत्यु, १८ घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको हो ।  दुर्घटनामा काभ्रेको पनौती नगरपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मी बताए । उनका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको काठमाडौंस्थित बीएण्डबी अस्पताल, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरूमा काभ्रे घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय जुनुबाबु तामाङ, सुनसरी घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षीय समीर उरम, महोत्तरी घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय रवि मगर, नुवाकोट घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय टङ्कबहादुर तामाङ र काभ्रे पनौती घर भई हाल ललितपुर हात्तीवन बस्ने ३० वर्षीय रोहन तामाङ रहेका छन् । काभ्रे कोशीपारी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय कुमार खरेल, काभ्रे घरभई हाल काठमाडौं पेप्सीकोला बस्ने २४ वर्षीय रोशन लामा, काभ्रे पनौती घरभई हाल काठमाडौं बस्ने २८ वर्षीय सुरेश लामा, काभ्रे घर भई हाल काठमाडौं जडिबुटी बस्ने २६ वर्षीय सुरेश तामाङ, महोत्तरी बर्दिवास घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ४४ वर्षीय कृष्णबहादुर सुसलिङ, सोलुखुम्बू घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय गोपी खड्का र रामेछाप घर भई हाल काठमाडौं जडिबुटी बस्ने २१ वर्षीय गुणराज भुजेल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । महोत्तरी घर भई हाल काठमाडौं बस्ने २० वर्षीय कविर मगर, रामेछाप घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय सविन मगर, ओखलढुङ्गा घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय अर्जुन मगर, काभ्रे घर भई हाल काठमाडौं बस्ने १० वर्षीय शिशिर तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ निवासी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौं चन्द्रागिरि नगरपालिका-९ निवासी ४५ वर्षीया शान्ति महर्जन घाइते भएका छन् ।