काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएका छन् । भारत भ्रमणका क्रममा आइतबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सीमा सम्बन्धी अडान प्रस्ट पारेका हुन् ।
भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको ऐतिहासिक भूभाग रहेको धारणा दोहो¥याए । ती क्षेत्रका विषयमा नेपालले भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट आफ्नो दृष्टिकोण जानकारी गराइसकेको उनले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा विवादका सन्दर्भमा बेलायतको प्रसंग उठाएको विषयमा स्पष्टीकरण दिँदै खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभएको बताए । ऐतिहासिक प्रमाण र अभिलेखहरूको अध्ययनका लागि बेलायतका पुस्तकालय वा अभिलेखालयमा रहेका सामग्री उपयोग गर्न सकिने सन्दर्भ मात्र उठाइएको उनको भनाइ थियो ।
नेपाल–भारत सीमा सम्बन्धी धेरै विषयहरू ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको उल्लेख गर्दै खनालले वर्तमान सीमा निर्धारणको आधार १८१६ को सुगौली सन्धि रहेको बताए । यस्ता विषयमा समाधान खोज्ने उपयुक्त माध्यम संवाद र कूटनीतिक संयन्त्र नै भएको उनले बताए ।
पत्रकार सम्मेलनमा खनालले नेपाल र भारत दुवैले बाँकी रहेका विषयहरूलाई वार्ता र आपसी समझदारीमार्फत टुंग्याउन आवश्यक रहेको धारणा राखे । दुवै देशले सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
भारत र चीनबीच लिपुलेक क्षेत्र प्रयोग गरी कैलाश–मानसरोवर यात्रासम्बन्धी सहमति भएको विषयमा खनालले नेपालको दाबी रहेको भूभागसँग सम्बन्धित कुनै पनि निर्णय नेपाललाई बेवास्ता गरेर हुन नसक्ने बताए । नेपालले आफ्नो धारणा र चासो दुवै देशसमक्ष कूटनीतिक माध्यमबाट स्पष्ट रूपमा राखिसकेको उनले बताए ।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै खनालले उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने उद्देश्यले तयार गरिएको दस्तावेज भएको बताए । त्यस सम्बन्धमा आवश्यक निर्णय सम्बन्धित संयन्त्रबाटै हुने उनको भनाइ थियो ।
भ्रमणबारे जानकारी दिँदै खनालले नयाँ सरकार गठनपछिको आफ्नो यो पहिलो औपचारिक भारत भ्रमण भएको बताए । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे समीक्षा र छलफल भएको जानकारी दिँदै उनले बाँकी रहेका विषयहरूलाई पनि कूटनीतिक संवादमार्फत अघि बढाउने विषयमा दुवै पक्षबीच समझदारी रहेको बताए ।