सरकारले एकैपटक खटायो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक १ सय वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १ सय जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो । १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेको थिए । अब भने २३ वटा गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । मन्त्रालयका अनुसार पदस्थापन भएकाहरू सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरू रहेका छन् । भदौ १३ गते एकैदिन १०६ जना शाखा अधिकृतहरू स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरूको स्वास्थ्य समस्याका कारण पदस्थापनको निर्णय भएको छैन । दीक्षित भएकामध्येबाट प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानहरूमा आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरूमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयको अपेक्षा छ । सूची: [pdf id=509428]  

इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गरिने

फाइल तस्बिर काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाले श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ, लाखे आजु, पुलुकिसी र सव भकु देव नाचका क्रममा जीपीएस जडान गरिने बताएको हो । जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने महानगरले जनाएको छ । महानगरका अनुसार यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरूलाई सहभागी हुन र स्थानीयहरूलाई पूजाको तयारी व्यवस्थापन गर्न समेत सहज हुनेछ । अघिल्लो वर्ष पनि महानगरले रथमा गल्लीमा म्यापकाे प्रयोग गरेको थियो । सो गल्लीमा म्याप प्रयोगलाई सुधार गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । असोज १ गते इन्द्रजात्रा मनाइँदैछ ।

महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण भएको ३३ रोपनी जग्गा फिर्ता गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएको हो । महानगरको वार्षिक समीक्षामा बोल्दै उपप्रमुख सुनिता डंगोलले व्यक्तिले कब्जा गरेको ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराएर सार्वजनिक उपयोगमा ल्याइएको बताएकी हुन् । महानगरका अनुसार यसै वर्ष नगर प्रमुखको अध्यक्षतामा सार्वजनिक निजी साझेदारी बोर्ड गठन गरिएको थियो । जुन समितिले व्यक्तिले कब्जा गरेको ३३ रोपनीभन्दा धेरै  सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराएर सार्वजनिक उपयोगमा ल्याएकाे थियाे । साथै समितिले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरूलाई सुधारको मौका दिएर कारबाहीको दायरामा पनि ल्याएको महानगरले जनाएको छ । त्यस्तै, समीक्षामा बोल्दै उपप्रमुख डंगोलले राजस्व संकलन कार्यलाई सरल र सहज बनाउनुपर्ने बताएकी छन् । उनी भन्छिन्, ‘खर्चलाई मितव्ययी र लाभग्राहीले महसुस गर्ने बनाउनुपर्छ । ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ ।’ उपप्रमुख डंगाेलले चालु आर्थिक वर्षमा क्रमागत योजनाको संख्या धेरै भएकोले यस्ता योजना तत्काल सम्पन्न गर्नुपर्ने पनि बताएकी छन् । ‘यसवर्ष विनियोजित २४ अर्बमध्ये १२ अर्बभन्दा बढी अर्थात् ५१.०१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो,’ उनी भन्छिन्, ‘सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो ।’ समीक्षामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आव २०८०/८१ मा भएको कुल खर्च रकम आव २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर रहेको बताए । उनले विभागीय प्रमुखहरूलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र बेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे । महानगरपालिकाले आव २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत बेहाेर्ने अनुमान गरिएको थियो । योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको समीक्षा कार्यक्रममा महानगरपालिकाको नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने विभाग स्तरीय २५ वटा कार्यान्वयन एकाइका प्रस्तुति रहेका थिए । यी कार्यान्वयन केन्द्रहरूमा प्रशासन, वित्त, राजस्व, सार्वजनिक निर्माण, कृषि तथा पशुपन्छी, सहकारी, विपद व्यवस्थापन, शिक्षा, सूचना प्रविधि, कानुन तथा मानव अधिकार, वातावरण व्यवस्थापन, सामाजिक विकास, सम्पदा तथा पर्यटन, स्वास्थ्य, सहरी व्यवस्थापन विभाग रहेका छन् । यस्तै, सहरी योजना आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, खरिद एकाइ, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ, आन्तरिक लेखा परीक्षण एकाइ, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, महानगर प्रहरी बल, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यान्वयन केन्द्र रहेका छन् । समीक्षामा कार्यान्वयन केन्द्रका प्रमुखहरूले विभागगत प्रस्तुति पनि गरेका थिए । विभाग, आयोजना, एकाइ, कार्यक्रम, वडासहित महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने ८५ वटा केन्द्र रहेका छन् । यसवर्ष श्रम बैङ्कमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएकाे छ । समीक्षामा प्रशासन विभागका प्रमुख नमराज ढकालले भने, ‘यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरियो ।’ कर्मचारी व्यवस्थापनका विषयमा कुरा गदै उनले यस आवमा प्रदेश सरकारबाट सिफारिश भएर आएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको जानकारी दिए । महानगरले यस वर्ष ५५.४० किलोमिटर सडक कालोपत्रे गरेको बताएको छ । त्यस्तै, १०.३१ किलोमिटर सडक ढलान, १२.२५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्ग मिटर ढुंगा छाप्ने, ३.१८ किलोमिटर रिटेनिङ् वाल लगाउने काम भयो प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न भएको महानगरले बताएको छ । त्यस्तै, ९ वटा पार्क निर्माण भएका छन् । यस वर्षमा चालु र क्रमागत गरी ८ अर्ब ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना रहेका थिए । महानगरका अनुसार १ लाख २५ हजार २०६ जनालाई परिवार, नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतनजस्ता सेवा प्रदान गरिएको छ । २ हजार ९१० जनलाई पूर्ण खोप प्रदान गरिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ४ हजार ४६६ जनाको पोषण लेखाजोखा भएको छ । ८५४ जना क्षयरोग लागेका बिरामीलाई डट्स विधिबाट औषधी प्रदान गरिएको छ भने १ हजार २५० जना नागरिकलाई विपन्न उपचारका लागि सिफारिस गरिएको छ । ६ हजार ६२४ जनाको एचपिभी डिएनए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको र १ हजार ४३३ जनालाई निःशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराइएको महानगरले बताएको छ । महानगरका अनुसार ५ हजार ५ सय कुकुर विरालाको बन्ध्याकरण गरिएको छ । १६ हजार कुकुर/बिरालोलाई रेबिज भ्याक्सिन दिइएको छ भने १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइएको छ । २ हजार ५०० छाडा पशु व्यवस्थापन गरिएको र २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । यस आवमा बहाल करतर्फ ३ हजार ३१७ जना करदाताको संख्या थप भएको महानगरले जनाएको छ । यस्तै, व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाताको संख्या थप भएको महानगरको भनाइ छ । महानगरले सार्वजनिक स्थलहरूको सरसफाइका लागि ३ सय जना सफाइकर्मीहरू दैनिक रूपमा परिचालन गरेकाे जनाएकाे छ । महानगरका अनुसार विष्णुमति, रुद्रमति (धोवीखोला), भचाखुशी, टुकुचा, सामाखुशी, बल्खु, करखुशी र मनोहरासहितका नदीहरूको विशेष सरसफाइ गरिएको थियो । महानगरभित्र ४० माइक्रोनभन्दा कम तौल भएका पाताला झोलाहरूको विक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । महानगरले ६० वटा स्वास्थ्यसंस्थाहरूको फोहरमैला व्यवस्थापन अनुगमन गरेर कानुनी दायरामा ल्याएको छ । अफिस अटोमेसनअन्तर्गत ई-अफिस सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । जस प्रणालीमा अनलाइनबाट नै टिप्पणी लेख्ने, पेश गर्ने, दर्ता चलानी गर्ने प्रक्रिया हुने गरेको छ । इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम, ई-अफिस र सिफारिसका लागि ४७६ वटा डिजिटल सिग्नेचर प्रयोगमा ल्याइएको महानगरको भनाइ छ । ३२ वडा कार्यालय, ३२ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र, महानगर प्रहरी बल, दमकल, विभिन्न आयोजना, पार्कसहित ८५ वटा सेवा केन्द्रलाई ईन्ट्रानेट सञ्जालबाट जोडिएको महानगरले जनाएको छ । त्यस्तै, कल सेन्टरमा प्राप्त भएका २ हजार १५८ गुनासामध्ये १ हजार ७६५ वटा गुनासो सम्बोधन गरिएको महानगरले बताएको छ । महानगरका अनुसार २८ हजार १७२ कल रिसिभ गरिएकोमा २६ हजार १४ सम्बोधन भएको छ । भवन निर्माणतर्फ भने १ हजार ३२० वटा नक्सा स्वीकृत भएका छन् भने ६६ वटाको तला थप गर्न नक्सा पास गरिएको महानगरले बताएको छ । ३ हजार ७४५ वटा भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ भने १५५ जनाले नक्सा नामसारी गरेका छन् ।