वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति भयो : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताएका हुन् । उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताए । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ । भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको जानकारी दिए । ‘थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । त्यसले धेरै वितण्डा मच्चायो’, उनले भने । मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताए । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गरे ।

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए । तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए । पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए । तालमा माछापालनसमेत गरिने छ । लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ । गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ । रासस

हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।