गुल्मीमा एउटै व्यक्तिले फलाए ४०० मुरी धान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका छन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ । ‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताए । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ । ‘पहाडमा सधैं तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ’, उनले भने, ‘मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।’ धान खेतीका साथै उनले व्यावसायिक भैँसीपालन पनि गरेका छन् । उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ गरी बिक्री गर्ने र भुस भैँसीको आहारका रूपमा प्रयोग गर्ने योजना बनाइरहेको अर्यालले बताए । धान काटेलगत्तै उनले उक्त जग्गामा मकैखेती, घाँस वा अन्य तरकारी लगाउने उनले सुनाए । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरुलाई पनि राम्रो सन्देश दिएको बताए । यस्ता किसानलाई प्रोत्साहनका लागि पालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ । ‘मेघनाथले मिल स्थापनाका लागि सहयोग पाए हुन्थ्यो भन्ने गरेको सुनेका छौँ । यसमा लागत साझेदारी गर्न पालिका तयार छ । धुर्कोटमै चामलको मिल स्थापना हुने विषय पालिकाको लागि गौरवको विषय हो नि’, अध्यक्ष पोखरेलले भने । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मीमा उत्पादित चामललाई ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । गुल्मी जिल्लाभर यसवर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकामा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उनले जानकारी दिए । रासस

अवैध रुपमा सञ्चालन भएका टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौं । टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले मंगलबार नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए । ‘सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौँ’, उनले भने । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ थियो । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो । नगरपालिकाले केही दिनअघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।

गलकोटका सबै बस्तीमा पुग्यो सडक

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब २२० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किमी ग्रामीण सडक रहेका छन् । नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे । यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उनले जानकारी दिए । ‘गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ,’ प्रमुख गैरेले भने, ‘अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।’ गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उनको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए । गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गरे ।