घर बीमा कार्यक्रम कार्यान्वयनमा, उपमहानगरपालिकाले १५ लाखको बीमा गरिदिने

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताए । उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए । संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिने छ । जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । उनले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको उल्लेख गरे । उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा गरिदिने र १५ लाख रुपैयाँसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाख रुपैयाँभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ । १५ लाख रुपैयाँको बीमा गर्दा पाँच सय ८४ रुपैयाँ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए । नेपालगन्जका वडा नं ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो । सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको  वडा नं ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताए । रासस

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुंगेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए । महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।

देवघाटमा गाउँपालिकामा एक वर्षमा १४२ आयोजना सम्पन्न

दमौली । देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ । इन्जिनियर ढुङ्गानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ । गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मतकार्य सम्पन्न गरिएको उनले बताए । त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई सय ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उनले बताए । गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उनका अनुसार रिस्तीखोला, देउतीखोला र चाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणकार्य भइरहेको जनाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचना पुनःनिर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् । गाउँपालिकाअन्तर्गत थप पाँचवटा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने घिनाटारबाट टाउनचोकसम्म मोटरबाटो कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पिपलटारबाट मधुवन चोकसम्म र भुवनटारमा कालोपत्र गर्न थालिएको इन्जिनियर ढुङ्गानाले बताए । चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगममा ९९ वटा योजनाको अनुगमन गरी छवटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुमन समितिका संयोजक भुवनसिंह गुरुङले जानकारी दिए । सिँचाइतर्फ वडा नं १ मा एउटा, वडा नं २ को खाल्टेफाँटमा तीनवटा, वडा नं ३ मा एउटा र वडा नं ५ मा चार गरी नौवटा योजना सम्पन्न भएका छन् । साथै दुई हजार पाँच सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुईवटा लिफ्टिङ खानेपानी योजनामा समस्या भएपछि विद्युतीय माध्यमबाट तिनलाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नम्बर ५ मा तीनवटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेका र वडा नं ५ को झारखानीमा लिफ्टिङ सिँचाइ निर्माणाधीन छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नागरिकका विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताए । रासस