बागमतीका स्थानीय तहमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छः अध्यक्ष सिंतान
कोन्ज्योसोम गाउँपालिका प्रदेश नं ३ अन्तर्गतको ललितपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा निक्कै चर्चित छ । ५ ओटा वडा रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिकरुपले फरक विशेषता बोकेको पाइन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के-के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गरिरहेकाे छ ? हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । यहाँ मुख्य पेशाको रुपमा कृषि नै रहेको छ । हामीले कृषिका ब्लक कार्यक्रमहरू पनि राखेका छौं । पालिकाको माटो परीक्षण गरेका छौं । उत्पादन हुने अनुसारको वडामा तरकारी फलफुलको विउहरु लागाईएको छ । गाउँपालिकामा पकेट क्षेत्र पनि छुटाएका छौं । तरकारी तथा फलफुका विउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आई रहेको छौं । कृषि औजार र हाते ट्रयाक्टर पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । यो वर्षमा ब्लक अनुसार तरकारी खेती गर्ने लाई पनि अनुदानको व्यवस्था मिलाएका छौं । काउली, गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर भनिरहेका छौं । पशुपालनका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । हाम्रो गाउँपालिकाबाट दैनिक ४ ट्रक तरकारी काठमाडौंमा जाने गर्छ । गाउँपालिकामा धेरै दुध पनि उत्पादन हुने पनि गरेको छ । गाउँपालिकामा कति प्रतिशत नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? कोन्ज्योसोम गाउँपालिकामा बढी ग्रामिण क्षेत्रको रुपमा रहेको हुनाले धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिव ९० प्रतिशत भन्दाबढि मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । कोरोनाको समयमा गाउँपालिकाका नागरिक त्रसित भएका थिए । कोरोनाको समयमा नागरिकलाई धेरै नै सचेत बनायौं । गाउँपालिकामा हामीले क्वारेन्टिन निर्माण पनि गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरू पनि त्यो वेला प्रभावित भएको थियो । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरू पनि त्रासरहित भएर आफ्नो काम गरिरहनुभएको छ । खेलकुद विकासको लागि गाउँपालिकाले के–कसरी अनि कस्ता योजनाहरू बनाएको छ ? विद्यालयस्तरको खेलकुद प्रतियोगिता गाउँपालिकामा हुने गरेको छ । खेलकुद विकासको लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । धेरै युवाहरू खेलकुदमा उत्सुक छन् । हाम्रो गाउँपालिकामा वडास्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, टेबल टेनिस, कराँते, फुटबल लगायतका खेलहरू बेलाबेलामा गाउँपालिकामा आयोजना गर्दै आएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ नि ? सरकारले बनाएको मापदण्ड अनुसार हामीले शैक्षिक क्षेत्रलाई पनि अगाडि बढाई रहेका छौं । हाम्रो गाउँपालिकामा १७ ओटा विद्यालयहरु रहेका छन् । विद्यालय भवन निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी रहेका छन् । १५ सय बेडको अस्पताल निर्माण गर्ने अवधारणा पनि अगाडि सारेका छौं । संघिय सरकारको अनुदान र प्रदेश सरकारको अनुदानमध्ये आएको बजेट मात्र नभएर हामीले एकमुस्ट ६० लाख रुपैयाँ बराबरको बजेट पनि छुट्याएका छौं । कोभिड अस्पताललाई पनि हामीले निरन्तरता दिइरहेका छौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत आयुर्वेदिक अस्पतालबाट पनि सेवा निरन्तर दिइरहेका छौं । बागमती प्रदेशका स्थानीय तहहरुमध्ये उत्कृष्ट स्वास्थ्यसेवा दिनेमा हाम्रै गाउँपालिका परेको छ । प्राथमिक स्वास्थ्य सेवासम्म गाउँपालिकाको सबै नागरिकहरुको पहुँच पुगेको छ । स्वास्थ्य सम्बन्धि ल्याबको पनि स्थापना गरेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? पूर्वाधारका योजनाहरु ९० प्रतिशत सम्पन्न भइसकेका छन् । गाउँपालिकामा बनेका योजनाहरुको भुक्तानी वैशाख अन्तिमसम्म दिइसक्छौं । गाउँपालिकामा सडक निर्माणको कामहरु धेरै रहेका छन् । गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ४ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइसक्न लागेको छ । विद्यालय तथा स्वास्थ्य भवनहरुको निर्माण भएका छन् । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गौरवका योजनाहरूलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । २ करोड रुपैयाँको बजेटमा डीपीआर गरेर भ्यु टावर निर्माण भइरहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् मात्र ढुङ्गा, गिट्टि लगायतका साना उद्योगहरु छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु पनि छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायहरुबाट भने सामान्य कर संङ्कलन हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरु पनि धेरै भएका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । गाउँपालिका भित्रका केही सडकहरु पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ । गाउँपालिकामा विकास निर्माणको कामहरू कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरू प्रभावकारी र जवाफदेही नै छन् । हामीले आशा गरेअनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी खुसी छौं । गाउँपालिकाको सबै वडामा विद्युत् पनि पुगिसकेको छ । स्थानीय तह र प्रदेश सरकार बिचको समन्वय कसरी गरिरहनु भएको छ ? प्रदेश सरकारसँग संविधानले व्यवस्था गरेअनुसारको समन्वय भएको छैन । प्रदेश सरकार आफ्नै कार्यशैलीमा अगाडि बढिरहेको छ । स्थानीय सरकारको कुरा बुझ्ने नीति कार्यक्रम पनि ल्याएको छैन । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? गाउँपालिकाको आन्तरिक आय धेरै छैन । केन्द्र सरकारको सहयोगमा नै हामीले गाउँपालिकाको विकास निर्माणका कामहरू गर्नुपर्ने हुन्छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकामा रोजगारीका लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । जनतासँग ‘अध्यक्ष रोजगारी’ कार्यक्रम सञ्चालन गरेका छौं । यहाँका धेरै युवाहरु कृषि पेशामा आबद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही भने शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के के होलान् नि ? ठुला आयोजनहरू हामीले चाहेर पनि गर्न सकेका छैनौं । एउटा जिल्लाबाट अर्को जिल्लासम्म पुग्ने सडकहरूको विकास गर्न सकिएको छैन । कम्तीमा एउटा सडकलाई पिच गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । सडक सबै ठाउँमा पुर्याइयो तर त्यसको उचित व्यवस्थापन गर्न भने समस्या भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटनकीय क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरेका छौं । पर्यटन सम्बन्धी व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटनस्थलको रूपमा पाथीभरा मन्दिर, मनकामना मन्दिरलगायतका स्थानहरु छन् । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? पहिलो कुरा त यो हो कि सभ्य समाजको निर्माण गर्ने परिकल्पना छ । सबै नागरिकलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिने, सकारात्मक सोचको विकास गर्ने तथा एउटाले बनाउने अर्कोले भत्काउने जुन खाल्को प्रवृत्ती छ त्यसको अन्त्य गर्ने । यसका साथै स्वास्थ्य, शिक्षा लगायतलाई पनि राम्रो बनाउने योजना छ । कृषिलाई आधुनिकिकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि कम्मर कस्नेछु ।
सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ऋण पाउने
काठमाडौं । सुन्दरहरैचाका नगरपालिकाका युवाले नेपाल बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमै ऋण(कर्जा) पाउने भएका छन् । नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदानगर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ । बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधि समाप्तिपछि दुबै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।
तराई–मधेश सम्वृद्धि कार्यक्रमको प्रगति पेश गर्न पालिकालाई निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई–मधेश सम्वृद्धि कार्यक्रम केन्द्रिय समन्वय ईकाइले तराई–मधेश सम्वृद्धि कार्यक्रम लागु भएका स्थानीय तहहरुलाई त्यसको प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । समन्वय इकाईले एक सूचना जारी गर्दै सो कार्यक्रम लागु भएका स्थानीय तहहरुलाई हालसम्मको कार्य प्रगति बुझाउन निर्देशन दिएको हो । सुचनामा तराई मधेश सम्वृद्धि कार्यक्रम संचालन निर्देशिका-२०७७ को अनुसुचि ४ को ढाँचामा केन्द्रिय समन्वय इकाईको इ-पोर्टलमा कार्य प्रगति अपलोड गर्न भनिएकाे छ । गत माघ ३ गते बसेको मन्त्रीस्तरीय बैठकले तराई–मधेश सम्वृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ खारेज गरी तराई मधेश सम्वृद्धि कार्यक्रम सञ्चालन निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो । हालसम्म २ सय ८२ पालिकाका २ हजार ६ सय १७ वडामा सो कार्यक्रम लागु भएको छ । तराई मधेशका मानव विकास सुचाङमा तुलानात्मक रुपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधार लगायतका विकासको कार्यक्रमहरु एकीकृत रुपमा आर्थिक, सामाजिक रुपान्तरण गर्न एवं जनाताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्वनस्तरमा सुधार ल्याउनको लागि यो कार्यक्रम लागु गरिएको हो । तराई मधेशका आर्थिक, सामाजिक रुपले पछाडि परेका वर्ग, समुदाय र भैगोलिक क्षेत्रको पहिचान गरी कार्यक्रम सञ्चालन हुने भौगोलिक क्षेत्र किटान गन तथाबजेट निकास र खर्चलाई पारदर्शी तथा बस्तुनिष्ट बाउने उद्धेश्य यो कार्यक्रमको छ ।