बेथानचोक गाउँपालिकाका किसानलाई दुधमा अनुदान
काभ्रे । बेथानचोक गाउँपालिकाका किसानलाई दुध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दुध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दुधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले थानी महांकाल डेरीमार्फत दुध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दुधमध्ये १० लाख ५२ हजार लिटर दुधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक-२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध किसानलाई बागमती प्रदेश सरकारले दुध उत्पादनमा आधारित रही प्रतिलिटर दुधमा तीन रुपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन् । सहकारीले १० लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले २६ लाख नौ हजार ६ सय १५ र पनौतीका किसानले ११ लाख ३८ हजार ९ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा चार हजार तीन सय ४३ देखि अधिकतम ५० हजारसम्म अनुदान पाएका हुन् । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दुधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए । उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्यांक संकलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिए । रासस
तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन
सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ । नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । विसं २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने बताए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने , ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो ।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् । गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सवस्टेसन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ । रासस
राजस्व असुलीमा आक्रामक बन्दै महानगर, पहिलो महिनामै उठायो ६५ करोड
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख रुपैयाँ बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ८१ करोड रुपैयाँको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा २० करोड रुपैयाँले बढी हो । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी ३१ करोड रुपैयाँ घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ । सम्पत्ति करमा १२ करोड रुपैयाँ असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा ३५ हजार रुपैयाँ मात्र असुल भएको छ । बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा ३ लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ । कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो । बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ । कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । कामपाले आव २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ ।