उद्योग वाणिज्य सङ्घमा ४६२ व्यवसाय दर्ता
पाल्पा, ७ साउन । रामपुर उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७२/७३ मा ४६२ जनाले आफ्नो उद्योग व्यवसाय दर्ता गराएका छन् । पाँच सय ५७ व्यवसायीले रामपुर नगरपालिकामा नवीकरण गरेका छन् । नगरपालिका र उद्योग वाणिज्य सङ्घमा दर्ता गरेर मात्र व्यवसाय चलाउनुपर्ने गरी समन्वय भएको छ । उद्योग वाणिज्य सङ्घले सिफारिस गरेपछि नगरपालिकामा दर्ता गर्ने नियम रहेको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए। यहाँका व्यवसायी, व्यापारीलाई सहज सेवा दिने उद्देश्यले वाणिज्य सङ्घले नगरपालिकासँग समन्वय गरेर नगरका विभिन्न सात स्थानमा सञ्चालित घुम्ती शिविरमा १३३ जनाले आफ्नो व्यवसाय दर्ता गराएका थिए । यस्तैगरी सङ्घले रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग, करदाता सेवा कार्यालय, कर कार्यालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराको सहयोगमा कर, पान भ्याट तथा व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम, उद्यमशीलता तालिम सञ्चालन गरेको छ । गत असोजमा रामपुर उद्योग वाणिज्य सङ्घका रुपमा जिल्ला प्रशासनमा दर्ता भई सञ्चालनमा आएको हो । उद्योग वाणिज्य सङ्घ यहाँ स्थापना भएपछि विभिन्न व्यवसाय, व्यापार, पसल, उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले बताए । रासस
ट्याक्सीकालागि भूकम्म पिडितले दुई दिनमै मागभन्दा धेरै अावेदन दिए, छान्न कठिन
काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्। बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन हुने जनाएको छ। लामो समयदेखि ट्याक्सी दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्। चौध वर्षपछि गत वर्ष विभागले एक हजार अाठसय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो। यसमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् । ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हाे।
हिमालयन ईन्टरप्राइजेजलाई पेट्रोलियम कारोबारको अनुमति
काठमाडौं, ६ साउन । निजी संस्था मार्फत नेपाली बजारमा पेट्रोलियम पदार्थको विक्रि वितरणका लागि सीजी होल्डिङ्स अन्तर्गतको एक सदस्य कम्पनी हिमालयन ईन्टरप्राइजेज प्रालिलाई अनुमति प्रदान गरिएको छ । अनुमति अनुसार कम्पनीले अब नेपाली बजारमा पेट्रोल, डिजल र मट्टितेलको विक्रि वितरण गर्न पाउने छ । नेपाली बजारमा बढ्दो पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गर्दै सीजी होल्डिङ्स अहिले नेपाल आयल कर्पोरेशन लिमिटेड (एनओसी)सँग प्रतिस्पर्धात्मक मुल्य कायम गर्दै बजार माग अनुसार आपूर्ति पु¥याउन प्रयासरत रहेको बताइएको छ । समग्र देश विकासका लागि उर्जा अपरिहार्य रहेको बताउँदै नेपाली बजारमा निरन्तर विद्यमान पेट्रोलियम पदार्थको संकट समाधानमा उल्लेख्य सहयोग पुग्ने सोचका साथ सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले आफु यस नयाँ उद्यमका लागि निकै उत्सुक रहेको बताएका छन् । “उपभोक्तालाई पेट्रोलियम पदार्थको सहज उपलब्धता र उत्कृष्ट गुणस्तरमा एकरुपताका लागि हिमालयन ईन्टरप्राइजेज प्रालि सधै प्रतिबद्ध रहेको छ”उनले भने ।