निर्माण क्षेत्रको नयाँ परीक्षा, घुस बिनाको विकास सम्भव छ ?
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारणसभा तथा १३ औं महाधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । तर, विगतका वर्षहरूमा जस्तो तामझामका बीच उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री मञ्चमा देखिएनन् । आइतबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साललाई निमन्त्रणा दिन मन्त्रालय पुगेको थियो तर परम्परा भत्काउँदै मन्त्री लम्सालले कार्यक्रममा जान अस्वीकार मात्र गरेनन्, एउटा मौखिक प्रस्ताव अघि सारे । मन्त्री लम्सालको अभिव्यक्ति थियो, घुस नदिए ढिलाइ हुँदैन । मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई साक्षी राखेर मन्त्री लम्सालले भनेका कुरालाई उद्धृत गर्दै निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले भने, ‘पूर्वाधार आयोजनाहरू ढिला हुनुको मूल कारण भ्रष्टाचार हो । यदि व्यवसायीले घुस दिन बन्द गर्छन् भने सरकारले कुनै पनि प्रशासनिक अवरोध बिना कामको तुरुन्त भुक्तानी दिनेछ ।’ मन्त्रीको यो अडानले महासंघलाई झस्कायो मात्रै होइन, कार्यबाहीका लागि बाध्य पनि बनायो । २४ घण्टाभित्रै महासंघले परिपत्र जारी गर्दै आफ्ना सदस्यहरूलाई सरकारी अधिकारीलाई अतिरिक्त भुक्तानी अर्थात् घुस नदिन र कसैले मागेमा सिधै मन्त्रीलाई रिपोर्ट गर्न निर्देशन दियो । मन्त्रीको बहिस्कार र नयाँ नीतिगत बहसका बीच महासंघको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यसपटक नेतृत्वका लागि निकोलस पाण्डे र आङ दोर्जे लामा (एडी) को प्यानल चुनावी मैदानमा छन्। निकोलस पाण्डेको प्यानलले युवाजोस र एसोसिएट क्षेत्रको प्रतिनिधित्वलाई जोड दिएको छ । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) देखि सातै प्रदेशका उपाध्यक्षहरूको बलियो टिम छ । जसमा कोशी प्रदेशबाट उपाध्यक्षमा धिरेन्द्र दाहाल, बागमती प्रदेशबाट उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशबाट उपाध्यक्षमा राजेन्द्र पहाडी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेशबाट उपाध्यक्ष हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा भीमबहादुर पाल, एसोसिएट उपाध्यक्षमा नरहरि थपलिया महासचिवमा बलिभद्र राणा, उपमहासचिव (नीतिगत) मा मंगल बहादुर शाही, उपमहासचिव (आन्तरिक) मा सुवित श्रेष्ठ, कोषाध्यक्षमा उज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ रहेका छन् । अर्कोतर्फ आङ दोर्जे लामाको प्यानल अनुभव र पुरानो साख जोगाउने दाउमा छ । लामाको प्यानलमा रोशन दाहाल वरिष्ठ उपाध्यक्ष र शिवहरि घिमिरे महासचिवको उम्मेदवार छन् । दुवै प्यानलले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । तर, यो निर्वाचन केवल व्यक्तिको छनोट मात्र नभएर, मन्त्रीले अघि सारेको भ्रष्टाचारमुक्त निर्माणको चुनौतीलाई कसले कसरी सामना गर्छ भन्ने परीक्षा पनि हुनेछ । विगतमा प्रज्ञा प्रतिष्ठानको हल खचाखच भरिने व्यवसायीहरूको उपस्थिति यसपटक केही पातलो देखियो । पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । निर्माण व्यवसायीहरू सन् २०१९ देखि यो क्षेत्रले ठूलो आर्थिक संकट र प्रशासनिक जटिलता भोगिरहेको बताउँछन् । उनीहरूको गुनासो छ, फाइल अघि बढाउन र बिल पास गर्न कमिसन नदिई कामै हुँदैन । नेपालको अर्थतन्त्रमा पूर्वाधार क्षेत्रको ठूलो योगदान छ । तर, समयमै काम नसकिने, लागत बढ्ने र गुणस्तरहीन काम हुने समस्याले देशकै विकासको गति सुस्त बनाएको छ । मन्त्री लम्सालले देखाएको कडापन र महासंघले जारी गरेको परिपत्र यदि इमानदार कार्यान्वयन भयो भने यसले नीतिगत तहमा ठूलो सुधार ल्याउन सक्न व्यवसायीहरू बताउँछन् । नयाँ नेतृत्वका लागि अबको बाटो सहज छैन। एकातिर सरकारको कडा निगरानी र अर्कोतिर वर्षौंदेखि रोकिएका भुक्तानी र निर्माणका समस्याहरू छन् । बिहीबारसम्म चल्ने यो महाधिवेशनले केवल नयाँ कार्यसमिति मात्रै चयन गर्ने छैन, बरु घुस बिनाको निर्माण सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर पनि खोज्नेछ ।
गोल्याण ग्रुपमा अक्षयको ‘वार्ता’ शैली
काठमाडौं । ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ । सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीले यस संस्थाको भविष्यको लागि गहिरो महत्त्व राख्दछन्।’ व्यावसायिक घराना गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंकडिनमा भिडियोसँगै पोष्ट गरेको यो विचार अहिले चर्चामा छ । ३७ वर्षीय अक्षयले गत मंसिरमा ग्रुपको नेतृत्व सम्हालेसँगै कामको शैली पनि बदलेका छन् । जसमध्ये एक हो, वार्ता । अक्षयले पोष्ट गरेको भिडियोमा उनले ग्रुपका कर्मचारीसँग वार्ता गरिरहेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता व्यावसायिक घराना गोल्याण ग्रुपमा करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन् । उनले पहिलो चरणमा कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् । ‘वार्ता’ नाम दिइएको यस कार्यक्रममार्फत उनले कर्मचारीका प्रश्न, गुनासो र सुझावहरु सुनेका छन् । ‘तपाईंहरूले प्रमाणित गर्नुभयो कि हाम्रा कर्मचारीहरू यहाँ केबल काममात्र गर्दैनन्, गहन रुपमा सोच्न र समृद्धिको यात्रामा सहकार्य गर्न पनि सक्षम छन्,’ उनले वार्ताको अनुभव सुनाउँदै भनेका छन्, ‘अब मेरो प्रतिवद्धता तपाईंले व्यक्त गर्नुभएको विश्वासलाई निर्णय प्रक्रियामार्फत विकासमा बदल्नु हुनेछ ।’ साढे ६ दशक लामो विरासत बोकेको गोल्याण ग्रुपको नेतृत्व अहिले तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले गरिरहेका छन् । स्वदेशको श्रम, सीप र पुँजीलाई प्रयोग गर्दै ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बनाउने अभियानमा रहेका अक्षयले यसको लागि संस्थाको आन्तरिक सामर्थ्यलाई मजबुत बनाउने रणनीतिअन्तर्गत ‘वार्ता’ थालेका हुन् । कार्यरत कर्मचारीसँग बसेर प्रत्यक्ष कुराकानी गर्ने, उनीहरुका समस्या तथा सुझाव सुन्ने र सोको आधारमा संस्थागत योजना तथा रणनीति तय गर्ने वार्ताको उद्देश्य रहेको अक्षयले बताएका छन् । गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । विश्वका ‘उत्कृष्ट १० भित्र पर्ने स्पेनको एसादी यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका उनले छोटो सयममै ग्रुपलाई नयाँ युगको पदचाप र परिवर्तनको चाहनामा हिँडाउने प्रयास गरेका छन् ।
अर्थमन्त्री वाग्लेलाई सीएनआईको सुझाव– ‘पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माण गरौं’
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ अर्थतन्त्रका विद्यमान समस्या एवं समाधानका उपायका विषयमा छलफल गरेको हो । परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक बृद्धिको अपेक्षा हासिल गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिए । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पूराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट रुपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गरे । उनले रोजगारी सिर्जना, उच्च अंकको आर्थिक बृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने सुझाए । उनले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कानुनी रुपमा सम्पत्ति आर्जन गर्नु, पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माणका लागि सरकारले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले बजार माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा पनि जोड दिए । उनले परिसंघले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र कसरी १०० अर्ब डलरको बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई उपलब्ध गराउने जानकारी गराए । अर्थमन्त्री वाग्लेले ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताए । उनले नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमुलक उद्योगहरूलाई सरकारले फरक रुपमा हेर्ने बताए । लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिने उनले बताए । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने अग्रसर हुने उनले बताए । उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने तर उदारताको नाममा छाडा हुन भने नदिइने बताए । मन्त्री वाग्लेले बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह समेत गरे । अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनहरुका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गरे । सो छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, शशिकान्त अग्रवाल, उपाध्यक्षहरु हेम राज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्यद्धय विदूषी राणा, सन्दीप शारडा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायतले सरकारले आर्थिक सुधार तथा उच्च अंकको आर्थिक बृद्धि हासिल गर्न केन्द्रित गर्नुपर्ने विषयमा सुझाव दिए ।