भारतले थप ३५ मेगावाट अनुमति दिएसँगै नेपालको विद्युत निर्यात क्षमता १२ सय मेगावाट पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारमा अर्को सफलता हात पारेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले नेपालबाट थप ३४.९५ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएसँगै नेपालको कुल स्वीकृत निर्यात क्षमता १ हजार २ सय मेगावाट पुगेको छ । बुधबार भारतीय पक्षबाट प्राप्त नयाँ अनुमतिसँगै प्राधिकरणले अब भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को प्रतिस्पर्धी बजारमा थप दुई आयोजनाको बिजुली बिक्री गर्न पाउने भएको हो । कुन-कुन आयोजनाले पाए अनुमति ? प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अब सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादी खोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतीय बजारमा बिक्री हुनेछ। यसअघि प्राधिकरणले ३३ वटा आयोजनाका १ हजार १ सय ६५ मेगावाट विद्युत निर्यातको अनुमति पाएको थियो । नयाँ थपिएका दुई आयोजनासहित अब कुल स्वीकृत क्षमता १ हजार २ सय मेगावाट पुगेको छ । नयाँ आयोजनाको स्वीकृतिसँगै भारतले यसअघि नै निर्यात भइरहेका १२ वटा आयोजनाको २०४.५८ मेगावाट विद्युतको निर्यात अवधि पनि थप गरिदिएको छ । यसअघि १५ जुनदेखि ३१ अक्टोबरसम्मका लागि मध्यकालीन द्विपक्षीय सम्झौतामार्फत अनुमति पाएका यी आयोजनाहरूको बिजुली अब वर्षको बाँकी अवधिमा पनि भारतीय प्रतिस्पर्धी बजार (आईईएक्स) मा बिक्री गर्न सकिने गरी नवीकरण गरिएको प्राधिकरणले जनाएको छ । बंगलादेशसँग बढ्दै व्यापार नेपालले हाल भारतको प्रसारण लाइन प्रयोग गर्दै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिरहेको छ । हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत निर्यात गर्ने समझदारीसमेत भएको छ । प्राधिकरणले वर्षायाममा आन्तरिक खपत भई बढी भएको विद्युत भारतको  ‘डे-अहेड’ तथा ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । यसका साथै हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौतामार्फत पनि बिजुली निर्यात भइरहेको छ । यद्यपि, नदीमा जलस्तर घट्ने सुख्खायाममा भने नेपालले अपुग विद्युत भारतको आईईएक्स र द्विपक्षीय सम्झौतामार्फत आयात गर्दै आइरहेको छ।

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली । मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।       भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिए ।      मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।  

म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र, सडक सुधारको काम सम्पन्न

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ । त्यसैगरी,राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् । रासस