काठमाडौं उपत्यकामा ५३ किमी सडक विस्तार सुरु

काठमाडौं, १६ असार । उपत्यकामा ५३ किमी सडक विस्तारका लागि बोलपत्र आह्वान गरी काम सुरु गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा ३६ किमी सडक विस्तार सम्पन्न भइसकेको जनाएको छ । उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम रहेकामा ३६ किमी सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाइएको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिए । “त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारको प्रक्रिया सुरु भएको छ”– उनले भने । विगत वर्षबाटै काम सुरु भएको त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो कीर्तिपुर ५०० मिटर र बूढानीलकण्ठ–विष्णुमतीपुल ८०० मिटर सडकको काम केही बाँकी रहेको आयोजनाले जनाएको छ । काठमाडौंउपत्यका विकास प्राधिकरणले विभिन्न समयमा सरकारले तोकेको मापदण्डका आधारमा सडक सीमाको चिह्न लगाएपछि त्यस क्षेत्रको महानगरपालिका वा नगरपालिकाले मापदण्ड विपरीत बनेको संरचना भत्काउँछ । सरकारले तोकेको मापदण्डको जग्गा खाली भएपछि आयोजनाले सडक विस्तार गर्छ । विसं २०३३ मै तोकेको मापदण्डको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खम्बा गाड्ने र सडक विस्तारका बेला निकाल्न आयोजनाले नै पैसा तिर्नुपर्दा ढिला हुने समस्या रहेको आयोजना प्रमुख श्रेष्ठको गुनासो छ । रासस

मुस्ताङमा युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो

मुस्ताङ, १६ असार । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि।सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि।सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । “युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए। “यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ । खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए। “नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने । लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । “कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने। सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ । रासस

डडेल्धुरामा २६ वटा सडक निर्माण हुँदै

डडेल्धुरा, १६ असार । डडेल्धुरा जिल्लामा यो आर्थिक वर्षमा २६ वटा ग्रामीण र आर्थिक केन्द्र जोड्ने सडक निर्माण भइरहेका छन् । जिल्लामा निर्माण भइरहेका सडकमध्ये स्थानीय यातायात क्रमागत योजनाअन्तर्गतका १२ सडक र आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने १४ वटा सडक केन्द्रीय बजेट वा सडक विभागको योजनाअन्तर्गतका सडक यो आर्थिक वर्षमा निर्माण भइरहेका जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । करोडौँको लगानीमा निर्माणाधीन अवस्थामा रहेका सडकले जिल्लाको सम्पूर्ण गाविस सदरमुकामसम्म सुविधा पुग्ने जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । केही गाउँबाहेक अधिकांश गाविसका र नगरपालिकाका गाउँमा समेत सडकले छुने कार्यालयका प्राविधिक दीपक ओझाले बताए । स्थानीय स्तरमानै सडक पुगेपछि ग्रामीण क्षेत्रका सर्वसाधारण जिल्ला सदरमुकामसँग जोडिएको र विभिन्न कुरामा पहुँच बढेको भन्दै हर्षित बनेका छन् । ग्रामीण भेगको उत्पादन दाल, तरकारी, साग र अन्य दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न पनि सहज हुने जिल्ला सदरमुकामभन्दा टाढा रहेको रुपाल गाविसका स्थानीयवासी करन ठकुराठीले बताए । आफूहरु पनि सजिलैसँग गाडीको यात्रा गरेर सहज तरिकाले जिल्ला पुग्ने बेलापुर वान्नीका समाजसेवी धनबहादुर साउदले बताए। जिल्लामा निर्माण गरिएका कतिपय सडक वातावरण प्रभाव मूल्याङ्कननै नगरी निर्माण भइरहेको समेत स्थानीय बताउँछन् । राजनीतिक दलको दबाबका कारण डडेल्धुरा जिल्लाका अधिकांश ग्रामीण सडक वातावरण प्रभाव मूल्याङ्कन नगरिकनै निर्माण भइरहेका छन् भने केही सडक वनजङ्गल भएर नै निर्माण गरिँदा वनविनास समेत भइरहेका छन् । यति मात्रै नभई जिल्लाका ग्रामीण क्षेत्रमा योजनाबिना ग्रामीण सडक निर्माण हुने गरेका छन् । योजनाबिना सडक निर्माण गर्दा सडक दिगो नहुने र दुर्घटना बढ्ने खतरा हुने प्राविधिकको भनाइ रहेको छ भने बिना योजनाका सडकले वन जङ्गल पनि सखाप पारिरहेको स्थानीयले बताएका छन् । एउटै सडकलाई पूर्णरुपमा निर्माण नगरिकनै अरु सडक निर्माण गरेका कारण पनि ग्रामीण क्षेत्रका अधिकांश सडक प्रयोगविहीन अवस्थामा रहेका छन् । डडेल्धुराको समैजी गाविसको सबैभन्दा पुरानो बैडा, मुद्राड, कोलासमैजी हरियाली सडक अन्य नयाँ सडकका कारण बजेट नै आउन छोडेको स्थानीय गजबहादुर भण्डारीको भनाइ रहेको छ । रासस