पहिलो किस्ताको रकम दुरुपयोग गर्नेलाई दोस्रोमा सहभागी नगराईने- प्राधिकरण
काठमाडौं, ५ असोज । भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ । गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएका छन् । भूकम्प पीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानून बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्रावधान रहेकोले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध छ । पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानूनी प्रावधान रहेको समेत सबैलाई जानकारी गराइएको छ । त्यसैले गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् । भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ । असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको छ । भूकम्पबाट घर भत्किएका सबै घरधनीहरुलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकोले अनुदान प्राप्त गरेपछि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गर्न प्राधिकरण सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।
निजगढ बिमानस्थलको निर्माण यसै बर्षदेखि, मुआब्जा वितरण सुरु हुँदै
काठमाडौं, ४ असोज । सरकारले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण यसै आर्थिक बर्षबाट सुरु गर्ने भएको छ । सो बिमानस्थलका लागि चालु आर्थिक बर्षमा सरकारले एक अर्ब ५० करोेड रुपैंयाँ बजेट बिनियोजन गरेको छ । अघिल्लो बर्ष बिनियोजीत ५० करोड बजेटबाट पनि खर्च नभएको रकम जोडेर तत्कालै मुआब्जा वितरणको तयारीमा नेपाल नागरिक उड्डयन प्राधिरण लागेको हो । जग्गा अधिग्रहणका लागि ३५ दिने सूचना निकालिसकिएको छ । सो सूचनाको म्याद समाप्ता भएर स्थानिय सहमतिका आधारमा १५ दिन म्याद थप गरिएको बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेलले जानकारी दिए । ‘३५ दिने म्याद सकिएर १५ दिन थप गरिएको छ, अबको केहि दिन भित्रै मुआब्जा वितरणको काम सुरु हुन्छ’, सांसद पौडेलले विकासन्युजसँग भने । बिमानस्थल निर्माण क्षेत्रमा ११० बिगाह नम्बर जमिनमा १२० परिवारको बसोबास रहेको छ । सोमध्ये ८० परिवारले मात्रै मुआब्जाका लागि विवरण बुझाएका छन् । बाँकी ४० परिवारले जमिन सट्टा भर्नाको माग गरेको पनि पौडेलले जानकारी दिए । नम्बरी जमिन बाहेक करिब ६ सय बिगाह ऐलानी जमिनमा १४२१ परिवार बसेका छन् । उनीहरुलाई मुआब्जा वितरणका लागि कानुनी व्यवस्था नरहे पनि सरकारले बिशेष निर्णय गरेर मुआब्जा वा सट्टा भर्नामा जमिन दिनेछ । नागरिक उड्डयन प्राधिरणले यसै बर्षभित्र मुआब्जा र डिपिआर तयार पार्ने जिम्मेवारी पाएको छ । त्यसका लागि समयमै काम सम्पन्न गर्ने योजना बनेको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए । प्राधिकरणले एक खर्ब २१ अर्ब रुपैंयाँ खर्चेर निजगढ अन्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरण सञ्चालक समितिको बैठकले ६ बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि पहिलो चरणको योजना पास गरेको हो । यसरी निर्माण गरिएको बिमानस्थलले बर्षेनी एक करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।
पोखरा–बागलुङ सडक सञ्चालन
पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएकोे जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन् । रासस