भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

गण्डकी । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ । त्यस्तै भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिने भएको छ । भवन अभावले समस्यामा परेको यस अस्पतालको क्षमता विकासको कार्यले अस्पतालेका सेवा विस्तार र बिरामीको सेवा सहजीकरणमा टेवा पुग्ने अस्पतालले अपेक्षा लिएको छ । भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट विनियोजन गरेको छ। त्यसैगरि बजेटमा उल्लेख गरिएका ठूला परियोजनामध्ये भक्तपुरमा सबैभन्दा धेरै खानेपानी तथा सरसफाई क्षेत्रमा योजना समेटिएको छ । यस शीर्षकमा चार  योजना समेटिएका छन । काठमाडौँ उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्ने भएको छ । यसले भक्तपुरका बासिन्दाको खानेपानी, सिँचाइको आवश्यकतालाई पूरा गर्ने अभियानको सुरुआत भएको चाँगुनारायण नगरपालिकाकाले जनाएको छ ।  मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत भक्तपुर, थिमि, पेप्सिकोला क्षेत्रमा पाइपलाइन निर्माण गरिने तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माणाधीन भक्तपुरको दधिकोट खानेपानी आयोजना आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गर्नुले खानेपानीको अभावपूर्तिमा राहत पुग्ने विश्वास लिएको छ । राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरी भक्तपुरको कटुञ्जे ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने बजेटले व्यवस्था गरेको छ । हिंसापीडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला–साहना पुनःस्थापना केन्द्र निर्माण गरिने बजेटले व्यवस्था गरेको छ । सडक पूर्वाधारतर्फ बजेटमा भक्तपुरको ठूलो परियोजनाअन्तर्गत यातायात पूर्वाधार शीर्षकमा सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ । रासस

बागमती सुधारका लागि २० वर्षे गुरुयोजना बनाइँदै

काठमाडौं । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रुप दिनका लागि विभिन्न सारेकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए । यस वर्ष अन्तिम रुप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ । उनले भने, ’अबको  २० वर्षमा बागमतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।’ गुरुयोजना अनुसार बागमतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ । ठोस फोहरमात्र नभइ तरल फोहर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिच्छाइने छ । ’ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ’, अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए । समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहर व्यवस्थापनको काम गरिरहेको छ । बागमतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले बताए । उनका अनुसार ती सबै खोला बागमतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन् । ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुबैतर्फ ढलको लाइन बिच्छाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ थियो । बागमतीमा मिसिने खोलाहरुमा फोहर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । ’विष्णुमतीमा ढलको लाइन बिच्छाइएको भए पनि विष्णुमती र बागमती मिसिएको ठाउँमा पाँच सय मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ’, उनले भने । १३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३÷१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए । उनले भने, ’मनोमतीसँग जोडिने ससाना खोल्साहरु जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बागमती सफा हुँदैन ।’ सरकारले विसं २०६६ मा पाँच वर्षको बागमती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ । रासस

मेलम्चीको पानी काठमाडौं पठाइयो

काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।