बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा पाँच तारे होटल बन्दै

महोत्तरी । महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ म एक अर्ब रुपैयाँमाथिको लगानीमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण काम थालिएको छ । बर्दिवास चोकको नजिकै ‘होटल रामिणी’को निर्माण थालिएको हो । कोरोना महामारीमा सुस्ताएको पर्यटकीय गतिविधि पछिल्ला दिनमा बढ्न थालेसँगै होटल, व्यवसाय तथा पर्यटनलाई लक्षित गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने बढिरहेका छन् । होटल रामिणीको निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको होटल रामिणी निर्माण समितिका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए । यसअघि केही महिना पहिले मात्र बर्दिवासस्थित होटल गौतमले लालगढमा ५० करोड रुपैयाँ बढी लागतमा अत्याधुनिक होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । विनायक, गुञ्ज, नाव्या र पावनमिथिला बर्दिवासमा सञ्चालन हुँदै आएका आधुनिक सेवासहितका होटल मानिन्छन् । यसबाहेक २० भन्दा बढी १० करोड लागतमा निर्माण भएका होटल बर्दिवासमा सञ्चालित छन् । मधेसको राजधानी र प्राचीन मिथिला राज्यको मुख्य सांस्कृतिक केन्द्र जनकपुरधाम र भारतको अयोध्यासँगको रामायणकालीन सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत जोड्ने उद्देश्यले होटल निर्माण थालिएको घिमिरेको भनाइ छ । आदर्श नारी सीताको माइती जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक होटल सञ्चालन भएको भन्दै यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनले बताए । बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ । जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ । साथै ३५ किमी दूरीमा पर्ने जनकपुरधामका पर्यटकीय गतिविधिसँग सोझै जोडिन सकिने बर्दिवासका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । ‘रामिणी’ सीताजीकै मिथिला, वैदेही, जानकी, मैथिली, किशोरीजी र जनकनन्दिनी जस्तै नाउँ हो । जनकपुरधाम र अयोध्याका सम्बन्ध घनिभूत बनाउन र दोहोरो आवागमन सघन बनाउन सुविधा सम्पन्न होटल र यसको सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने यस होटलमा सात/सात तलाका दुई वटा भवन बन्ने छन् । होटलमा ८२ वटा अत्याधुनिक सुविधासहितका कोठा हुने जनाइएको छ । होटल निर्माण दुई वर्षभित्र सम्पन्न भइसक्ने प्रबन्धक श्रेया पाण्डेको भनाइ छ । पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र भारतसँग जोड्ने बर्दिवास जलेश्वर तथा बर्दिवास सम्सी सडकको सङ्गम रहेको हुँदा यो ठाउँ आम यात्रीका लागि बसोबास गर्न उपयुक्त केन्द्र बन्दै गएको प्रबन्धक पाण्डेले बताए । चुरे पहाडको काखमा अवस्थित बर्दिवास वरपर टुटेश्वरधाम, पञ्चधुरा माइस्थान र राइमण्डल धार्मिक क्षेत्र पर्यटकका गन्तव्य बन्दै आएका छन् । यसैगरी १० हजार वर्ष पहिलेको पाषाणकालीन हतियार कारखाना यहाँ रहेको तथ्य प्रकाशमा आउँदै गएपछि यसबारे चासो राख्ने अन्वेषकको बाक्लो आउजाउ बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए । साथै पूर्वपश्चिम राजमार्गमा मधेसको झण्डै मध्यविन्दूमा परेको हुँदा बर्दिवासमा होटल तथा पर्यटन सम्भावना बढेको उनको भनाइ छ । सेवा, सुविधा र अपनत्वभाव होटल तथा पर्यटन सम्भावना विकासका अपरिहार्य पक्ष रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताए । यही कुरालाई मध्यनजर गर्दै मुलुकमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेका उनले जानकारी दिए । हाल मुलुकमा पाँच तारे होटलको सङ्ख्या २२ र चार तारे होटलको सङ्ख्या ३४ पुगेको छ । नयाँ बन्न लागेको होटल रामिणीले भारतका होटल ब्राण्डसँग छलफल गरी सेवा तथा सुविधा स्तरीय बनाइने प्रबन्धक पाण्डेले बताए । उनका अनुसार होटल सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । रासस

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, १ हजार मेगावाट बिजुली उत्पादन

फुङ्लिङ । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसैगरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ । रासस

पर्यटकको रोजाइमा कोटदरबार, केबुलकार निर्माणका लागि ५ करोड विनियोजन

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो । कोटदरबार क्षेत्र अग्लो स्थानमा रहेकाले दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालिकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । सदरमुकामबाट नजिकै भएकाले स्थानीय बिहान मर्निङ वाक गर्न तथा बेलुका आरामका लागि पनि यहाँ पुग्ने गरेका उनको भनाइ छ । वडाध्यक्ष ताम्राकारले, ‘सदरमुकाम बस्ने कर्मचारी, व्यापारी र स्थानीय जिल्लाको दृश्य अवलोकन गर्न तथा आराम गर्न यहाँ आउने गरेका छन् । बिदाका दिन तथा चाडपर्वमा यो क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ ।’ स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, तीन वटा प्रतिक्षालय, खानेपानीको धारा र राजा मलय बम्मको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय र प्रदेश सरकारले केही रकम विनियोजन गरेर गोरेटो बाटो, प्रतिक्षालय, मन्दिर तथा अन्य संरचना नभएको थियो । ती संरचनाको संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन्’, उनले भने । स्थानीय सरकारमा यसको संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ । नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताए । ‘यो दरबारमा विसं १३४४ सम्म मलय बम्मका सन्तानले दरबार बनाएर राज्य गरेका थिए’, उनले भने, ‘बम्मका सन्तानले पछि दरबार छोडेर गएसँगै यो भग्नावशेषमा परिणत भएको छ ।’ बाइसे–चौबिसे राज्यका राजाहरु अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र–१ का प्रेमबहादुर शाहीले बताए । ‘यो दरबार क्षेत्रमा प्रवेश गर्दा रानी ढुङ्गा, कैदी राख्ने ठाउँ र घोडाबास छुट्टाछुट्टै स्थानमा देखिन्थ्यो’, उनले भने, ‘अहिले ती स्थानमा भग्नावशेष मात्रै देखिन्छ । संरक्षणका लागि केही प्रयास भए पनि सदुपयोग हुन सकेको छैन् ।’ नगरपालिकाले २४ लाखको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिए । ‘पहिले स्थानीय सरकारले संरक्षणका लागि केही रकम विनियोजन गरेर केही संरचना निर्माण भएका थिए’, उनले भने, ‘अहिले ती बनेका संरचना पनि भत्किने अवस्थामा पुगेका छन् । यहाँ नयाँ संरचना बनाउनुभन्दा पनि भएका संरचनाको संरक्षण गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु जरुरी छ ।’आन्तरिक पर्यटकको रोजाइमा परेको कोटदरबार क्षेत्रलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘स्थानीय र प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्दै आएको छ’, उनले भने, ‘यसका लागि हामीले गुरुयोजना तयार पारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी काम गरिरहेका छौँ ।’ कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केवुलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भन्दै केवुलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताए । ‘केबुलकार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड रकम विनियोजन गरेको छ । कुन ‘मोडालिटी’मा बनाउने भन्ने विषय टुङ्गो नलागेकाले अहिले केबुलकारको काम अगाडि बढेको छैन्’, उनले भने, ‘केबुलकार बनेमा कोटदरबार क्षेत्र पर्यटकीय हबका रुपमा विकास हुँदै जानेछ । यसले यहाँका स्थानीयवासीको जीवनस्तर उकास्न पनि टेवा पुर्याउनेछ ।’ रासस