राहुघाटमा निर्माणाधीन ५ जलविद्युत आयोजना अन्तिम चरणमा
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२।५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले पनि आगामी एक वर्षभित्र नै विद्युत उत्पादनको तयारी गरेको छ । ‘८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्,’ अध्यक्ष भण्डारीले भने, ‘४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।’ नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत आयोजनाको ६ किलोमिटर २ सय ७० मिटरमध्ये करिब दुई सय ५० मिटर मात्र सुरुङ खन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । करिब ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए । अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । करिब १४ अर्ब रुपैयाँ लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत आयोजना निर्माण सुरु भएको थियो । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत उत्पादन गर्ने तयारी गरिएको इञ्जिनियर तिमिल्सिनाले बताए । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको कामसक्ने लक्ष्य रहेको बताए। २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको बताए । उनका अनुसार विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ । सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । ३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सबस्टेसन निर्माण सुरु नहुँदा म्याग्दीको जलविद्युत क्षेत्रमा नकारात्मक असर परेको संविधानसभा सदस्य नवराज शर्माले बताए । ‘डाँडाखेतको सबस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि सन्तोषजनक छैन,’ उनले भने, ‘ठेक्का अवधि सकिन चार महिनामात्र बाँकी हुँदासमेत राहुघाटमा सबस्टेसन निर्माण सुरु नगर्दा म्याग्दीको जलविद्युत् क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ ।’
सुनकोसी-मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब १ सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने । सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररूपमा अगाडि बढिरहेको छ ।’ सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो । प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ । आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रूपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ । रासस
६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण
टीकापुर । टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए । उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत दमनसिंह अब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे । तत्कालीन नारायणपुर गाविका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए । कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गरे ।