गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुंगे पुल बनाइँदै

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । ‘रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुंगे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘करिब १ करोड ३३ लाख रुपैयाँ लागतमा झोलुंगे पुल निर्माण थालिएको हो ।’ झोलुंगे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताए । पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन् । गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताए । ‘प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुंगा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ,’ उनले भने । निर्धारित समयमा निर्माण सम्पन्न गर्न छजना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उनले बताए । पुल निर्माण गर्न स्थानीवासीले १ लाख ७६ हजार रुपैयाँ बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।

जलविद्युतमा लगानी गर्दा हुने फाइदा सरकारले स्पष्ट भन्न सक्नुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् । बिहीबार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताए । त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको बताए । उनले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताए । सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताए । नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको जानकारी दिए । सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताए । ‘नेपाल सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ । त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । नेपाल सरकारले विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारलाई इप्पानले जलविद्युत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ’, उनले भने । उनले लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएको बताए । विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताए । सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको जानकारी दिए । इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताए । ‘सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ’, उनले भने, ‘आकस्मिक रूपमा विद्युत्गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ ।’ जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताए । तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ । एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ । विद्युत्गृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ । आउटलेटबाट विद्युत्गृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ । पचासी प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ । फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ । आयोजनाका प्रमुख इन्जिनीयर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबीच निर्माणलाई तीव्रता दिइएको बताए । कुल तीन अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का अगुवा डा बद्री केसीले गरेका छन् । नेपाल बैंक लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर ९पानी थिग्राउने पोखरी० मा क्षति पुर्याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बत्तीसमध्ये १४ वटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ । रघुगङ्गा गाउँपालिका–३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा ठूलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ । रासस