हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ’ उनले भने । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आव्हान गरे । ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताए । ‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने । लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक चाडोँ भन्दा चाडोँ पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे । जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे । ‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’ मन्त्री बस्नेतले भने । अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भुमिका खेलिरहेको र दक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्’ उनले भने । उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान सरकारसँग आग्रह गरे । जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवद्र्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको बताए । नेपालका लागि क्यानाडाका राजदुत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे । ‘नेपालमा जलविद्युत परियोजनाको विकास गर्नको लागि क्यानाडासँग रहेको शीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’ उनले भने । उनले नविकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ । इप्पानका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत निर्यातमाभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । यसको लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको महत्वपूर्ण हुने उल्लेख गरे । समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरू भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँको लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताए । चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ । छलगाड खोलमा निर्माण हुने पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सार्वजानिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रूपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।
हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु, विद्युत् खपत बढाउने उद्देश्य
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु भएको छ । बुधबार काठमाडौंमा विद्युतीय सवारी (इभी) र्यालीसहित हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले इभी र्यालीको शुभारम्भ गरेका हुन् । विद्युतीय सवारी प्रर्वद्धन गर्ने उद्देश्यले एक्स्पोको प्रारम्भमा इभी र्यालीली आयोजना गरिएको हो । र्याली शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । ‘हाइड्रो एक्स्पोअघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ,’ उनले भने । हाइड्रो एक्स्पोले नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने उनले विश्वास समेत व्यक्त गरे । यस्तै, इपान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफैँ खपत गरौँ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए । ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ,’ उनले भने । एक्स्पो आयोजक संस्था इभेन्ट सोलुसनका प्रबन्धक विजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए । र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै एक्स्पो आयोजना स्थल भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी भएका थिए । र्यालीसँगै भृकुटीमण्डपमा सुरु भएको एक्स्पो शुक्रबार सम्म चल्ने छ । एक्स्पोको औपचारिक उद्घाटन भने बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।