पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा कार्यालय स्थापना हुने भएका छन् । शहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ९१० बाट स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य खड्ग बस्नेतले ती कार्यालय स्थापनाको प्रक्रिया प्रारम्भ भएको राबताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै कार्यालय स्थापना गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए । प्रदेशको समग्र विकासका साथै जनतालाई राज्यबाट सहज रूपमा सेवा प्रवाह गर्न ती कार्यालय आवश्यक भएकाले प्रदेश सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बस्नेतले बताए ।

डेढ अर्ब बढी लागतमा बन्ने नेपालकै पहिलो सिग्नेचर ब्रिज सोमबार शिलान्यास हुँदै

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको ‘एड्भान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएका छन् । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने उक्त नयाँ पुल शिलान्यास गर्न लागेका हुन् । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल ४ सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । उनले भने, ‘पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् ।’ पुलको दुई ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनले जानकारी दिए । सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सात वर्षअघि आफू पहिलो पटक महानगर प्रमुखको उम्मेदवार हुँदा घोषणापत्रमा उल्लेख गरेर निरन्तर पहलकदमीपछि पुल निर्माण हुने अवस्थामा पुगेको बताए । महानगरले हरेक वर्षको नीति तथा कार्यक्रममा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माणका लागि पहल गर्ने उल्लेख गर्दै आएको भन्दै उनले यो नमुना ‘सिग्नेचर’ पुल भएको पनि स्पष्ट पारे । समयमा पुल निर्माण गर्न नसकेमा दीर्घकालीनरूपमा समस्या हुनसक्ने भएकाले आफूहरू निरन्तर लागेको उनको भनाइ छ । नारायणी नदीमा जलसँग सम्बन्धित पर्यटकीय गतिविधि गर्नका लागि पुलको डिजाइन नै तलको भाग फराकिलो बनाइएको भन्दै उनले नयाँ पुल बनेसँगै भरतपुरको विकासमा थप टेवा पुग्ने बताए । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रले तोकिएको समयमा गुणस्तरीय काम गर्न आफूहरू प्रतिबद्ध भएर सोहीअनुसार तयारी गरिएको बताए । भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाले आवश्यक सहजीकरण गरेका कारण कामलाई गति दिन सहज हुँदै आएको बताए । हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबुलकार, ५०१ सदस्यीय दबाब समूह निर्माण

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न संघसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन् । केबुलकार निर्माण सुरु गर्नुपर्ने माग गर्दै पछिल्लो समय जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरू जनमत निर्माण गर्न लागिपरेका छन् । साथै, यहाँको नागरिक समाजले केबुलकार निर्माणका लागि दबाब दिँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शनसमेत गरेको छ । निर्माणको काम चाँडै सुरु गर्न दबाब सिर्जना गर्दै नागरिक समाजका तर्फबाट पाँच सय एक सदस्यीय दबाब समूह पनि निर्माण गरिएको छ । उता स्थानीयहरूकै पहलमा पदम चेञ्जी मावो लिम्बु संयोजक र प्रकाश मादेन लिम्बु सहसंयोजक रहेको केबुलकार निर्माण सहयोग समिति गठन गरी नागरिक समाजका तर्फबाट पनि निर्माणको काम चाँडै सुरु गर्न दबाब दिन थालिएको छ । केबुलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने भन्दै यहाँका प्रायः सबै राजनीतिक दल तथा निजी क्षेत्रका संघसंस्था आ–आफ्ना बैठक तथा विज्ञप्तिमार्फत आह्वान गरिरहेका छन् । ताप्लेजुङका निजी क्षेत्रका व्यावसायिक संघसंस्थाहरू नेपाल उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ ताप्लेजुङले सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा केबलकार निर्माण गर्न सबैले सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । प्रेस विज्ञप्ति उल्लेख गरिएको छ, ‘विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान हुन थालेको हामीले प्रत्यक्षरूपमा अनुभूत गरेका छौँ, त्यसैले निर्माणको काम जतिसक्दो चाँडो अघि बढाउनुपर्छ ।’ अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब तीन लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यहाँ केबलकार निर्माण गर्न सकिएमा यहाँ बर्सेनि १२ लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको निजी क्षेत्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको बुझाइ छ । त्यसैगरी जिल्ला समन्वय समितिले पनि केबुलकार निर्माण सहजीकरण समिति गठन गरी परियोजना सहजीकरण समिति गठन गरेको छ । सो समितिको पटक-पटक बसेको बैठकले केबुलकार तत्काल निर्माण अगाडि बढाउन पनि माग गरिरहेको छ । साथै, सो निर्णयको छायांकपीसहित गत फागुन ४ गते जिल्ला समन्वय समिति ताप्लेजुङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र कोशी प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा दर्ता गराइसकेको छ । निजी तथा सरकारी लगानी भित्र्याई जिल्लालाई समृद्ध बनाउन सबै जिल्लावासी एक भएर लाग्न आश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले प्रेस विज्ञप्ति सार्वजनिक गरी विकासका परियोजनालाई निर्वाधरूपमा सञ्चालन गर्न तथा यसका लागि शान्तिसुरक्षा कायम गर्न समेत माग गरेको छ । यही वैशाख २५ गते नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले पाथीभरामा केबुलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले पाथीभरामा केबुलकार बन्ने विषयमा विवाद गर्नु नहुने बताइसकेको छ । निर्माणका क्रममा रहेको केबलकारले पाथीभरा मन्दिरलाई कुनै असर नपर्ने तथा तीर्थयात्रीलाई सहजता हुने भएकाले केबुलकार निर्माणका लागि आफ्नो पार्टीको समर्थन रहेको माओवादी केन्द्र ताप्लेजुङका संंयोजक विष्णुकुमार लिम्बु र सचिव सागरमणि गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ । ताप्लेजुङमा केबलकार निर्माण हुनु जिल्लावासीको समृद्धि र यहाँको पहिचानसँग जोडिएको भन्दै पाथीभराको मुख्य पूजाधामबाट एक किलोमिटर तलै केबलकार निर्माण गर्दा कुनै समस्या नरहेको याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष पदम चेन्जी माबो र सचिव पेली माबोहाङले गत चैत १७ गते आफ्ना धारणा सावर्जनिक गरेका थिए । त्यस्तै स्थानीयको प्रत्यक्ष सहभागिता, रोजगारीमा प्राथमिकताका साथै स्थानीयवासीको शेयर लगानी जस्ता विषय सुनिश्चित गरेर केबुलकार कम्पनीले निर्माण अगाडि बढाउनुपर्ने पनि याक्थुङ चुम्लुङ नेपाल झापाले जनाएको छ । गत चैत १६ गते पाँचथर उद्योग वाणिज्य संघले केबुलकार निर्माण पक्षमा ऐक्यबद्धता जनाएको छ । संघले केबुलकारजस्तो बृहत् आयोजनालाई स्थानीयले स्वागत गरेर जिल्लामा भित्र्याउनुपर्नेमा जोड दिएको छ । निर्माण सुरु भएपछि त्यसको १३ महिनाभित्रै परियोजना सम्पन्न गर्ने भन्दै निर्माण कम्पनीले प्रशासनिक तथा अन्य कामहरू सकेको भए पनि निर्माण प्रक्रियाबारे केही स्थानीयले विरोध गरेका कारण केबुलकार परियोजना अघि बढ्न सकेको छैन । पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने आफूहरू निर्माणको सुरुवातको पर्खाइमा रहेको र अब छिट्टै सुरु हुने बताए । ‘अहिले पाथीभरामा केबुलकार निर्माण गर्न सहज वातावरण बन्दै गएको छ । स्थानीय जनताले पनि निकै लामो समय भयो, हामीलाई केबुलकार सपनामात्र हुने भयो निर्माणको काम थालिहाल्नुपर्यो भनेर दबाब नै दिनुभएको छ, त्यसैले निर्माणको काम छिट्टै नै सुरु गर्नेछौँ,’ अध्यक्ष ढकालले भने, ‘हामीसँग अनुभव छ, हामीले विभिन्न ठाउँमा केबलकार सञ्चालन गरेका पनि छौँ, त्यसैले निर्माण सुरु गर्यौँ भने हामीले पहिले भनेजस्तै १३ महिनामै सम्पन्न गरिसक्नेछौँ ।’ स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकासलगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने भएकाले स्थानीयले उठाएका मागबारे बसेर समझदारी गर्न सकिने उनको भनाइ थियो । कम्पनीले स्थानीयलाई पनि यर प्राप्त दिने ढाँचामा यसको विकास गरिरहेको छ । यसबाट सिंगाे प्रदेश सरकार, स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष लाभ हुने मोडलबाट केबुलकार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबुलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए । मुख्य स्टेसनबाट १० मिनेटमा केबुलकारको अन्तिम स्टेसन पुग्न सकिने कम्पनीले जनाएको छ । केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले बताए । उक्त केबुलकारमा ४५ वटा गोन्डुला रहने कम्पनीले जनाएको छ । केबुलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त संघर्ष समितिले भने केबुलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक लिङ्खिमले लिम्बु समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउँछन् । तर, निर्माण कम्पनीले भने स्थानीयसँग बसेर सबै विषयमा छलफल गरी सहमतिका साथ अघि बढ्न सकिने बताउँदै आएको छ । काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबुलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ । केबलकार निर्माण गर्न रु चार अर्बभन्दा बढी लाग्ने कम्पनीले जनाएको छ ।