बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौं । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट असोज १४ गते गठित समितिले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत्, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको बताएको हो । समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे अध्ययन गरेको थियो । अध्ययनमा निर्माण सम्पन्न भएका विभिन्न २७ वटा जलविद्युत् आयोजना, निर्माणाधीन १९ आयोजनामा रु ६ अर्ब बराबरको क्षति भएको पाइएको छ । यस्तै, प्रसारण र वितरण लाइनतर्फ करिब १६ करोड बराबरको क्षति भएको अध्ययन समितिका सदस्य–सचिव एवं मन्त्रालयका सिडिई शालिग्राम भण्डारीले जानकारी दिए । यसैगरी, सङ्घीय सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु चार अर्ब ९८ करोड र बागमती प्रदेशतर्फ रु दुई अर्ब ४३ करोड, ग्रामीण विद्युतीकरणतर्फ रु २० करोड ७१ लाख बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । समितिले क्षतिको विवरण तयार पारी भविष्यमा यस्तो प्रकोपबाट क्षति हुनबाट रोक्न अबलम्बन गर्नुपर्ने उपाय तथा क्षतिग्रस्त आयोजनालाई प्रदान गर्नुपर्ने/गर्न सकिने राहतका विषयसमेतमा सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री खड्काले निकै मेहनतका साथ तयार गरिएको उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताए । ऊर्जामन्त्री खड्काले बाढी, पहिरो र डुवानका कारण क्षति भएका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र निजी क्षेत्रका जलविद्युत् आयोजनालगायत समग्र विद्युत् क्षेत्र तथा नदी नियन्त्रण र सिँचाइ आयोजनामा भएको क्षतिको मूल्याङ्कन गरी नेपाल सरकारले प्रदान गर्नसक्ने राहतका बारेमा प्रतिवेदन पेश गर्न ऊर्जा मन्त्रालयका सहसचिव जीवछ मण्डलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिको सदस्यमा विद्युत् विकास विभागका उपमहानिर्देशक सुनिल पौडेल, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक डा. सन्तोष कैनी, नेपाल विद्युत् प्राधिकरणका उप-कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र सदस्य-सचिवमा शालिग्राम भण्डारी थिए ।

अपि इन्फ्राको १२० करोड लगानीमा बन्ने लक्जरी अपार्टमेन्टको शिलान्यास, २ वर्षमा निर्माण सम्पन्न हुने

काठमाडौं । अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ । ललितपुरको झम्सीखेलमा सोमबार विशेष पूजापाठ कार्यक्रम गरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरिएकाे हाे । कम्पनीका अनुसार यो परियोजना १ अर्ब २० करोड रुपैयाँको लगानीमा निर्माण हुँदैछ । ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहने कम्पनीले जनाएकाे छ । अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काले जानकारी दिइन् । खड्काका अनुसार कम्पनीले बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दावी छ । के-के छन् विशेषता ? साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू १ बीएचके युनिट युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी) २ बीएचके युनिटहरू युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)। युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी) युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी) युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी) युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी) ३ बीएचके युनिटहरू युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी) युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)

मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो । सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताए । उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ । यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ । उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ । रासस