क्रिप्टोमा हुन्थ्यो कारोबार
काठमाडौं । ई-बिडिङ प्रणालीमा अनाधिकृत पहुँच पुर्याएको भन्दै यतिखेर १२ जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । पूर्वमन्त्री विक्रम पाण्डेदेखि अन्य निर्माण व्यवसायीहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपमा सीआईबीको हिरासतमा छन् । ठेक्काको कबोल रकम परिवर्तन गरेर आफ्नो पक्षमा ठेक्का पार्न उनीहरूमाथि गैह्रकानुनी काम गरेको आरोप छ । सीआईबीले गत बुधबार साँझ मात्रै निर्माण व्यवसायी ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गर्यो । बुढानीलकण्ठ नगरपालिका–९ मन्डिखाटारबाट उनी पक्राउ परेका थिए । टेन्डर प्रक्रिया नै ह्याक गरेर अर्बौंको ठेक्का हत्याउने निर्माण व्यवासायीहरुको माथिको अनुसन्धान प्रक्रिया सीआईबीले अन्तिम चरणमा पुर्याएको छ । संगठित अपराध कसुरमा आरोपीमाथिको अनुसन्धान प्रतिवेदन ६० दिनमा अदालत दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । केही दिनमा ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालयमा अभियोजन पत्र पेस गर्ने तयारी गरिरहेको छ । ३३ वर्षीय दिवाकर देउजा पनि सीआईबीको हिरासतमा छन् । ई–बिडिङ् प्रणाली ह्याक गर्नेमा उनको मूख्य भूमिका रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । ह्याकर देउजामाथि सार्वजनिक खरिद प्रणालीभित्र प्रवेश गरेर ‘फेक सिस्टम’ बनाएको आरोप छ । उनले उक्त प्रणालीमा प्रवेश गरेर विभिन्न ठेक्का कम्पनीलाई जानकारी दिने गरेको अनुसन्धानबाट खुलेको छ । सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘एक कम्पनीले यति रकममा हालेको छ । उसलाई भेट गरेर रकम बार्गेनिङ गर्ने वा मिलेर अगाडि बढ्न सुझाउने गरेका थिए ।’ देउजाले ह्याक गरेको सिस्टमभित्र प्रवेश गर्ने गरेका थिए । व्यवसायीहरूले उनलाई पाँचदेखि १० लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ। क्रिप्टोमा कारोबार ह्याकर र ठेकेदारहरुले क्रिप्टोमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको ती अधिकृतले बताए । उनले क्रिप्टो कारोबारीमार्फत पैसा असुल्ने गरेका थिए । कति रकम बराबरको क्रिप्टो दिन्थे भनेर अझै अनुसन्धानमा रहेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार ठेक्काको अन्तिम समयमा उनले अन्य कम्पनीको रकम अदलबदल गरिदिने गरेका थिए । ‘समय सकिएपछि पनि ठेकेदार कम्पनीलाई सम्पर्क गरेर कम्पनीको आवश्यक डकुमेन्ट अपलोड गर्थे,’ उनले भने ‘अरू कम्पनीको रकम हेर्दै कम रकममा हालेर ठेक्का हात पारिदिन उनी सक्रिय थिए ।’ उनले कुनै-कुनै योजनामा कसैले ठेक्का नहाल्दा पनि ठेकेदारलाई जानकारी दिने गर्थे । विकास योजनामा एकल ठेक्का पार्न पनि उनले ठेकेदारलाई सहयोग गर्ने गरेका थिए । ‘कतिपय अवस्थामा बढाएर पनि बोल कबोल गरिदिन्थे,’ प्रवक्ता श्रेष्ठले भने । बिक्रम पाण्डेले कालिका कन्स्ट्रक्सन मार्फत बकैया ब्रिज एक्सेस रोडमा ठेक्का पारेका थिए । अन्य कुन–कुन आयोजना ठेकेदार सक्रिय थिए भन्ने विषय अनुसन्धानकै क्रममा छ । पक्राउ परेका सबैलाई सीआईबीले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् । स्थानीय तहको पहल तथा सम्बन्धित निकायको समन्वयमा गाउँबस्तीमा विद्युत् लाइन विस्तार गरिएसँगै अधिकांश घरमा केन्द्रीय प्रसारण लाइन जडान गरिएको वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताए । धेरै मिहिनेतपछि वडाको सबै टोलबस्तीमा विद्युत् सेवा पुर्याउन सफल भएको उनको भनाइ छ । 'वडाका सबै स्थानमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएका छौँ', उनले भने, 'विद्युत् सेवा विस्तार भएपछि गाउँबस्तीमा सहजता थपिएको छ ।' पहिले दियो, टुकी, सोलारजस्ता वैकल्पिक माध्यममा निर्भर रहनुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीयवासी दीर्गसिं कार्कीले बताइन् । विद्युत् सेवा उपलब्ध भएपछि घरायसी कामकाजदेखि बालबालिकाको अध्ययन–अध्यापनसम्म सहजता भएको उनको भनाइ छ । 'पहिले अँध्यारोमा बस्नुपर्ने अवस्था थियो, अहिले उज्यालो भएपछि धेरै सहज भएको छ', उनले भनिन् । विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा समेत वृद्धि भएको छ । टेलिभिजन, मोबाइल चार्जिङ, इन्टरनेट प्रयोगजस्ता सेवामा सहजता आएपछि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको कार्कीले बताइन् । यस्तै, विद्युत् सेवाले साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सकारात्मक प्रभाव पारेको छ । कुटानी–पिसानी मिल, सिलाइ–कटाइ, फर्निचर तथा अन्य उद्यम सञ्चालन गर्न सहज भएपछि स्थानीयस्तरमै रोजगारी सृजना हुने सम्भावना बढेको स्थानीयवासी टङ्कबहादुर दर्जीले बताइन् । विद्युत् पहुँचले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमासमेत सहजता थपेको उनको भनाइ छ । विद्युत् विस्तारले स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने आधार तयार भएको छ । केन्द्रीय विद्युत् विस्तारसँगै खैराङ क्षेत्रका नागरिकको जीवनस्तरमा आएको सुधारले ग्रामीण विकासलाई नयाँ गति दिएको स्थानीयको भनाइ छ । रासस
बिपी राजमार्ग : जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ । समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ । यसैबीच सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका यात्रुको राति उद्धार गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई आज बिहान १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । वर्षात्पछिको बाढीले रोशी क्षेत्रमा बिपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ । बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो । गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।