तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।  जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो । वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई  धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ ।  गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ ।    

जडीबुटी-मनोहरा सर्भिस लेन अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्दै

काठमाडौं । सडक डिभिजन काठमाडौंले जडीबुटी मनोहरा पुल खण्डमा निर्माणाधीन सर्भिस लेन सुधारको ठेक्का अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं सडक डिभिजनले ‘सुजल/एम.डि. ब्रो जेभी, इलाम’लाई ठेक्का किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । डिभिजनका अनुसार अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि मनोहरा पुलसम्म दुवैतर्फ सर्भिस लेन सुधार कार्यका लागि उक्त कम्पनीसँग २०८० जेठ २५ गते ठेक्का सम्झौता भएको थियो । तर, पटक-पटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण प्रगतिमा सुधार नआएको, कार्यतालिका अनुसार काम नभएको र लामो समयदेखि आयोजना अलपत्र अवस्थामा रहेको जनाएको छ । कार्यालयले निर्माण कम्पनीले पटक–पटक प्रतिबद्धता जनाए पनि काम सुचारु नगरेको तथा आयोजना सम्पन्न गर्न आवश्यक तत्परता नदेखाएको उल्लेख गरेको छ । यसै आधारमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौताको जीसीसी क्लज ७२.१ अनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । डिभिजनले १५ दिनभित्र यथोचित कारणसहित आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता अन्त्यतर्फ कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

इप्पानमा पनि सुरु भयो चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमै ६ जनाको दाबेदारी

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा पनि चुनावी रौनक बढेको छ । विशेषगरी आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा आधा दर्जन आकांक्षीहरू देखिएपछि चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । स्रोतका अनुसार  वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरू भरत खत्री, उत्तम भ्लोन र आनन्द चौधरीसहित महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल र सचिव हिम पाठक मैदानमा उत्रिएको छन् । वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षीहरूको संख्या धेरै भएपछि नेतृत्वले सहमतिको प्रयास गरिरहेको छ । ‘हामीले साथीहरू मिलेर जाऔं, सरसम्मत नेतृत्व चयन गरौं भनेर छलफल त गरिरहेका छौं, तर कसैले पनि नछोड्ने अवस्था आए चुनावी मैदानमै जानुपर्ने हुन्छ,’ स्रोतले विकासन्युजसँग भने ।  इप्पानमा करिब ५ देखि ६ सय सदस्यहरू रहेकाले सकेसम्म विवादरहित ढंगले नेतृत्व छान्न प्रयास भइरहेको उनले बताए । विधानको प्रावधान र स्वतः अध्यक्षको बहस इप्पानको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।  यद्यपि नेपाल उद्योग वाणिज्य महासंघको सिको गर्दै इप्पानले पनि यो प्रावधान हटाउन विधान संशोधनको निर्णय कार्यसमितिबाट गरिसकेको छ । तर, उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भइनसकेकाले यसपटकको निर्वाचनमा पुरानै व्यवस्था (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) लागू हुने स्रोतले बतायो । ‘जुन दिन जिल्ला प्रशासनको छाप लाग्छ, त्यसपछि मात्र नयाँ व्यवस्था लागू हुन्छ । त्यसैले अहिलेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै भोलिको अध्यक्षको स्वाभाविक दाबेदार हो,’ स्रोतले थप्यो । इप्पानको आगामी ३ वर्षको कार्यकाललाई ऐतिहासिक र चुनौतीपूर्ण दुवै मानिएको छ । देशमा करिब दुई तिहाइ नजिकको बलियो सरकार रहेको समयमा नीतिगत पैरवी गर्नु इप्पानको मुख्य एजेन्डा हुने देखिन्छ । स्रोत भन्छ, ‘विसं. २०४९ सालपछि पहिलोपटक नयाँ विद्युत् ऐन आउने तयारीमा छ । यो ऐनले आगामी ५० वर्षसम्मको ऊर्जा क्षेत्रको भविष्य निर्धारण गर्नेछ । यस्तो महत्त्वपूर्ण समयमा आउने नेतृत्वका लागि यो कार्यकाल निकै चुनौतीपूर्ण र विशेष महत्त्वको हुनेछ ।’ निर्वाचनको मिति नजिकिँदै गर्दा प्यानल बनाउने र लबिङ गर्ने क्रम तीव्र भएको छ ।