मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन, एक अर्ब ८० करोड विनियोजन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै मंगलबार कामको प्रगतिबारे जानकारी लिए । ‘यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ’, उनले भने, ‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको बताए । उनले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताए । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत छ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा भवन निर्माण थालिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग गतवर्षको पुस २६ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । निर्माण सुरु भएको पाँच महिनामा १३ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका ‘साइट इन्चार्ज इन्जिनियर’ शङ्कर सुवेदीले जानकारी दिए । सम्झौताअनुसार १२ तले सो भवन आगामी २०८५ सालको पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने छ ।

सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै, बढ्दो विदेश पलायन रोक्न सकिने

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब रूपैयाँ लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।’यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु’, नेता खनालले भने, ‘निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।’ उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे। विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहेका ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिए । ‘देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दैगर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेकपटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्यो भन्नुहुन्थ्यो’, शिलान्यास समारोहमा उनले भने, ‘यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।’ उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ । उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । ‘त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ’, सञ्चालक न्यौपानेले भने । सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । उनले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान रहेको छ ।  रासस

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएकोे मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना छ । नारायणघाट-बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको उनले बताए । ‘अहिले दैनिक ५० वटासम्म सवारी चार्ज भइरहेका छन्, विस्तारका क्रममा रहेको यस सडकको काममा ढिलाइ हुँदा समस्या भएको छ’ उनले भने । बाटो विस्तारपछि थप १० वटा ‘नोजल’ थप गर्ने तयारीमा रहेको उनले बताए ।  विद्युतीय गाडी चार्ज गर्ने बेलासम्म यात्रुलाई असुविधा नहोस् भनी आफूले चमेनागृह सञ्चालनमा ल्याएको अधिकारीले बताए । ‘यहाँ सवारी मर्मत गर्ने ग्यारेज पनि थप गर्ने योजना छ’, उनले भने । लोकाहामा सञ्चालनमा आएको यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सृजना भएको उहाँको भनाइ छ । पछिल्लो समय विद्युतीय सवारीको चाप बढ्दो रहेको र सरकारको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अवधारणाअनुरूप विद्युतीय सवारी फास्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको अधिकारीले बताए । गाडीको ब्याट्री क्षमताअनुसार चार्जिङको समय लाग्ने र सोहीअनुसारको शुल्क लिने गरिएको उनको भनाइ छ । सवारी चार्ज गर्न लाग्ने समय फरक–फरक हुने उनले बताए । ‘कुनै पनि गाडी शून्य चार्जमा यहाँ आउँदैनन्, १०/१५ प्रतिशत चार्ज बाँकी नै हुन्छ, इभी चार्ज गर्ने पनि मोबाइल चार्ज गरेजस्तै हो’, उनले भने, ‘बढीमा एक घण्टाभित्र विद्युतीय गाडी सय प्रतिशत चार्ज हुन्छ ।’ चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको उनले बताए । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका अधिकारीको भनाइ छ ।  रासस