२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो

काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ ।  घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न २ घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताए ।  उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले हैरानी थियो । सडक कालोपत्र भएसँगै सहज रूपमा आवतजावत गर्न पाएका छौँ ।’  सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका-४ र १ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । घिरिङ गाउँपालिका-१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् ।  उक्त सडक कालोपत्र गर्न विसं २०७६ फागुनमा ठेक्का लागेको थियो । सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ ।  उक्त सडकमा ट्रयाक खुलेको ३० वर्ष भयो । विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँ लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो । ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैया लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो । यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् । नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप ७ किलामिटर कालोपत्र गर्न बहु वर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म ९ किलोमिटर सडक निर्माण भइसकेको छ । 

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने ।  नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।  नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए । चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ ।  वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका-१० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर वडा,), माइजोगमाई गाउँपालिका-१ (साविकको नयाँबजार गाविसका १-४, ६-४ नम्बर वडा), माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बर वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सूर्योदय नगरपालिका-१० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बर वडा) तथा सूर्योदय नगरपालिका-११ (साविकको पञ्चकन्या गाविसका २, ६, ८ वडा) का स्थायी बासिन्दाहरूलाई छुट्याइएको छ । यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० अर्थात् २ लाख ८१ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।