सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने

काठमाडौं । खानेपानी मन्त्रालयको लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।  उनकाअनुसार आगामी आर्थिक वर्षमा ठूला खानेपानीका आयोजना सम्पन्न भइ ३७ प्रतिशत जनसंख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुनेछ । ९८ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी सेवाको पहुँच पुग्नेछ । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिने बताए । सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने जानकारी दिए । काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ ।  यसका लागि ६ अर्ब ३७ करोड विनियोजन भएको बताए । आगामी आर्थिक वर्षमा तराई मधेशका २८० अधुरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने बताए । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिनेछ । विपदबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको मर्मत तथा पुनःस्थापना गरिनेछ। यसका लागि ४१ करोड विनियोजन गरेको जानकारी दिए । 

पृथ्वी राजमार्गको सोताङ खोलाको पुलमा भ्वाङ, सडक आवागमन पूर्णरूपमा बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलमा ठूलो भ्वाङ परेपछि नागढुंगा-मुग्लिन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान पुलको एकतर्फी भाग भासिएर भ्वाङ परेको हो । त्यसपछि काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारी साधन रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि दुवै दिशामा सवारी साधनको लामो लाइन लागेको छ। सडक बन्द हुँदा हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

सरकारको लक्ष्य: आगामी वर्ष थप ८५० किलोमिटर सडक कालोपत्रे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप ८५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हाल ग्राभेल वा कच्ची अवस्थामा रहेका ८५० किलोमिटर सडकहरू आगामी वर्ष कालोपत्रे गरिने जानकारी दिएका हुन्।