दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गरेका छन् । पश्चिम नेपालको व्यापारको लागि महत्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको आज निरीक्षण गरिएको हो । भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट क्लेरेन्स’ कामको थालनी गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले बताए । उनले भने, 'प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गर्नुहुन्छ ।' तीन वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको छ । सुक्खा बन्दरगाहस्थलमा रहेका एक हजार सात सय पाँच वटा रूख हटाएर जमिन खाली गरेपछि भारतीय निर्माण कम्पनीले साइट क्लियरेन्सको काम गरिरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाट गरिने सुक्खा बन्दरगाहको शिलान्यासको पूर्वसन्ध्यामा निरीक्षण गरिएको हो । पहिलो चरणमा २५ हेक्टरमा गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन, सुरक्षा व्यवस्थापन लगायतका संरचना निर्माण गरिने गजुरेलले जानकारी गराए । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेका छन् ।
जलविद्युत् कम्पनीहरूको सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति, १० करोडभन्दा बढी लगानी
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए । गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए । आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ । ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा रु एक करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ । 'तुदी पावरले थप रु २५÷२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,' गाउँपालिकाका अध्यक्ष भण्डारीले भने 'तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)को रु ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुदैछ ।' चिमखोला– मङ्गले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले रु ८० लाख खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् । बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए । ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ । रासस
सडक कालोपत्र नहुँदा वर्षौदेखि सास्ती, १० प्रतिशत मात्रै प्रगति
काठमाडौं । ९ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोक मार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ-घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वार पार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । ८ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ । नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताए । ‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ,’ मिश्रले भने, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’ बिहुँ-घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन ठेक्का सम्झौता गरिएको थियो ।