इलाममा २ वटा बेलिब्रिज निर्माण, लागत कति ?

काठमाडौं । इलाममा एक वर्षमा दुइवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवा खोला र जोगमाइ खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई-तिल्केनी सडक अन्तर्गत माइजोगमाई गाउँपालिका-४ र इलाम नगरपालिका-१० जोड्ने जोगमाइ खोला र केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाइ खोलामा १ करोड ९१ लाख २१ हजार ६३२ रुपैयाँ लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवा खोलामा १ करोड ४३ लाख ७६ हजार २९७ रुपैयाँ लागतमा ४८.६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।  सोही आर्थिक वर्षमा सक्ने गरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना-कञ्चनजङ्गा सडक अन्तर्गत ठाडे खोलामा १ करोड ८५ लाख ७ हजार ५३८ रुपैयाँ लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्झौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए ।

फेदीखोलाले साढे १७ करोड रुपैयाँको आईपीओ बिक्री गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा ४.३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।  आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण ४ करोड रुपैयाँ लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ ।  आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात्  ४८ करोड रुपैयाँ स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड रुपैयाँ थप गरी ७० करोड रुपैयाँ पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला ९ मेगावाट) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ । साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चार वर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।  'विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,'– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भनाई थियो । उनले विगतमा भएका निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने स्पष्ट पारे ।  ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।  मन्त्री खड्काले छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा समेत विद्युत विक्री सुरु गरिएको बताउँदै आगामी दिनमा यसलाई झन् फराकिलो बनाउँदै अगाडि बढ्ने उल्लेख गरे । छिमेकी मुलुकबाट विद्युत आयत घटाउँदै निर्यातलाई बढाउँदै लगिएको उनको भनाई थियो ।  उनले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि विना धितो जलविद्युतको सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताए । नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाई थियो ।  ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, अप्पर अरुण, तमोर, पञ्चेश्वर, दुधकोशी, पश्चिम सेतीलगायतका ठूला जलविद्युत आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि उर्जालाई सुरक्षित र भरपर्दो रुपमा विकास गर्न नसकिएको बताए ।  मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रंकलाईनको विषयमा अल्मलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गरे ।  कार्यक्रममा उर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई यस स्थानसम्म ल्याउन अहोरात्र खट्नुहुने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।  कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर काम गरेका ५९४ कर्मचारीलाई दिर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युतकर्मीका परिवारलाई सम्मान गरेका थिए ।