सञ्चालनमा आयो हेटौँडा–काठमाडौं त्रिभुवन राजपथ
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यता हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस
तल्लो अप्सुवा जलविद्युतको लागि ८.८४ अर्ब रुपैयाँ लगानी स्वीकृत, पोडवे सम्भाव्यता अध्ययन गरिने
काठमाडौं । लगानी बोर्डले तल्लो अप्सुवा जलविद्युत परियोजनाको लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको ६५औँ बैठकले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको सहसचिव एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । साथै, ८ सय मेगावाटको पश्चिम सेती जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवं वित्तीय ढाँचा लगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन सम्बन्धी परियोजना तथा काठमाडौं-हेटौंडा-वीरगञ्ज पोडवे परियोजनाको सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ । बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को विद्युत प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालि (केटीअीपीएल)लाई सहमति प्रदान गरेको छ ।
१ हजार ९६७ जनाले पाए बुङ्गल हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड गरिएको छ । स्थानीय बासिन्दालाई बिक्री गरिएको आईपीओ भदौ ५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल १ हजार ९६७ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको हो । बाँडफाँडमा परेका सेयरको विवरण बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइडबाट हेर्न सकिने कम्पनीले जनाएको छ । साथै, बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने बताइएको छ । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको थियो । आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १)का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूलाई छुट्याइएको थियो ।