रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता, तिहार भन्दा अगाडि सम्पन्न हुने

काठमाडौं । गत असार २४ गते रसुवाको ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् । अहिलेकै गतिमा काम गरेमा तिहार भन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए । त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही असोज २५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छि-त्रिशुली मैलुङ-स्याफ्रुबेँसी– रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ । निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए ।

हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीको अवरोध

काठमाडौं । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका-८ पचुँइस्थित नेपाल-भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडक खण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन । नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ ।  सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए । उनका अनुसार सडक खण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षोंदेखि भोगचलन गर्दै आएका छन् ।  सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगर प्रमुख चौधरीको भनाइ छ । 

पहिरो पन्छाएपछि बेनी-दरवाङ सडक सञ्चालन

काठमाडौं । पहिरोले अवरुद्ध बेनी-दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए ।  सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापर खेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक-पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।