म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति
काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।
बिदाका दिन पनि सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्य प्रगतिका बारेमा जानकारी लिए । बाढी पहिरोलगायतका कारण बिग्रे भत्केका संरचनाहरूको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।
९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न
काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ । १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् ।