हेलि एयर एम्बुलेन्समा सघाउन सेनासँग स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गरे । ‘संघीय अस्पतालहरूमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भैरहेको छ, ‘ मन्त्री पौडेलले भने, ‘सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’ मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवासमेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ, सुझाव दिनसमेत आग्रह गरे । मन्त्री पौडेलले गत साता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयका उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल बनाएका थिए । यसै सन्दर्भमा उनले सुरक्षा निकायका अधिकारीसँग मन्त्रालयमा बैठक गरेका हुन् । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीहरू सहभागी थिए । एयर एम्बुलेन्स र सर्पदंश उपचारका लागि सेनासँग सहकार्य प्रस्ताव स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्दारका लागि प्रशंसा गरे ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान 

 काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरिएको छ ।  निर्देशक छनोट समितिले एक सूचना जारी गर्दै माघ १५ गते भित्र योग्यता पुगेका व्यक्तिहरूलाई दरखास्त दिन आग्रह गरेको छ । नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद ६ बमोजिम त्रि.वि. शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ । अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेको समय अवधी सकिएपछि हाल निमित्तको रुपमा डा. घनश्याम गुरुङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् । कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन् । आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए । प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रूपमा सुधार अघि बढाउने प्रक्रिया अघि बढाएका हुन् । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकाललमा लागु गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ । यसैगरी नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ । ‘स्वास्थ्य बीमामा सुधार भएमात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिनसक्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।’ उनले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताए । उनले सरकार सुधारका लागि तयार रहेकाले सम्भव भएसम्मका सुधार अघि बढाउने बताए।