सर्वसाधारणभन्दा योगदानकर्तालाई पाँच गुणा बढी शुल्क, सुविधाको नाममा लुट मच्चाउँदै सासु कोष

काठमाडौं । चन्द्रागिरिकी दीपा ढुंगाना उपचारका लागि सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगिन् । आफू सामाजिक सुरक्षा काेषको  योगदानकर्ता रहेको र सो अस्पतालले पनि योगदानकर्तालाई सेवा दिँदै आएको सुनेपछि उनी उपचारका लागि सोही अस्पताल पुगिन् । दीपाले अस्पतालको टिकट काउन्टरबाट २०० रुपैयाँको टिकट लिइन् । आफू सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताएपछि अस्पतालले २०० को ८० प्रतिशत छुट गरेर ४० रुपैयाँको टिकट हातमा थमायो । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई सामान्य उपचार खर्च बापत् कुल खर्चको ८० प्रतिशत छुट दिने प्रावधानअनुसार उनले २०० मूल्यको टिकटमा ८० प्रतिशत छुट पाएर ४० रुपैयाँ नगद अस्पताललाई बुझाइन् । उनीसँगै लाइनमा लागेका अर्का बिरामीले भने ७५ रुपैयाँको टिकट काटे । ती व्यक्ति न सामाजिक सुरक्षा कोषमा आवद्ध थिए न त स्वास्थ्य बीमामा नै । तर, कोषले आफूलाई २०० को टिकट अर्का बिरामीलाई ७५ रुपैयाँको टिकट काटेको देखेपछि उनले अस्पतालका कर्मचारीलाई सोधिन्- टिकट शुल्कमा किन भिन्नता ? उनले अस्पतालको टिकट काउन्टरमा बसेको कर्मचारीबाट जवाफ पाइन्, ‘यो सामाजिक सुरक्षा कोषले पठाएको शुल्क हो । उनले सुनाइन्, ‘कार्ड देखाउँदा छुट हुन्छ भन्ने सुनेकी थिएँ तर अन्यको भन्दा बढी तिर्नुपर्‍यो, ओपिडी शुल्क र अन्य सेवामा पनि शुल्कमा धेरै भिन्नता देखियो ।’ देशकै कहलिएको वीर अस्पतालले पनि सामाजिक सुरक्षा कोषको सेवा दिन्छ । त्यहाँ पनि टिकट शुल्कमा सोही अवस्था देखियो । काठमाडौंको अनामनगरका दिनेश काफ्ले गत साता वीर अस्पतालमा पुगे । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेका उनलाई पनि यही शुल्कको विषयमा कौतुहलता जाग्यो । साधारण व्यक्तिले ४० रुपैयाँमा लिइरहेको टिकट उनले भने दुई सय रुपैयाँकै काट्नुपर्‍यो । दिनेशले सामाजिक सुरक्षाको कार्ड देखाएपछि दुई सयको टिकट काटेको बताए । वीर अस्पतालमा हरेक रोगको उपचारका लागि जानुपर्ने विभागको टिकट शुल्क फरक-फरक छ । अस्पतालले रोगअनुसार ६५, ७० र ७५ रुपैयाँ टिकट शुल्क तोकेको छ । तर, त्यहाँ पनि सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । ‘सर्वसाधारणलाई ४० रुपैयाँमा टिकट पाइन्छ । तर, सामाजिक सुरक्षा कोषमा आवद्धलाई ८० प्रतिशत छुट गर्दा पनि ४० रुपयाँमा पाइन्छ,’ उनले गुनासो गर्दै भने,  ‘अन्य बिरामीको टिकट नवीकरण गर्दा ५ रुपैयाँ लाग्छ तर सामाजिक सुरक्षा कोषको योगदानकर्ताले नवीकरण गर्दा २०० कै टिकट काट्नुपर्ने बाध्यता छ ।’ उनले एउटै अस्पतालमा पनि सामाजिक सुरक्षाका योगदानकर्ताले प्रत्येक दिन टिकट लिनुपर्ने बाध्यता रहेको सुनाए । सासु कोष तथा अन्य बीमा आवद्ध नभएका बिरामीले अस्पतालमा डाक्टरलाई जाँच गराउन तथा औषधी खरिद गर्न नयाँ टिकट काट्नुपर्ने बाध्यता नभए पनि सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई भने २०० रुपैयाँको टिकट काट्नै पर्ने वातावरण सिर्जना गरेको उनको गुनासो छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ता तथा स्वास्थ्य बीमाका बीमित भन्नेबित्तिकै अस्पतालले मूल्य पनि बढी राख्ने गरेको उनीहरुको गुनासो छ । काठमाडौंका नीतेश निरौला केही महिनाअघि टिचिङ अस्पताल पुगे । पहिलो दिन अस्पतालमा राख्दा उनको बेड शुल्क थियो- दैनिक तीन सय रुपैयाँ । धेरै दिन राख्नुपर्ने भएपछि उनी आफू स्वास्थ्य बीमामा आवद्ध भएको सुनाए । उनले स्वास्थ्य बीमाको कार्ड देखाएपछि अस्पतालले उनलाई एक दिनको बेर्ड चार्ज दुई हजार रुपैयाँ लगायो । ‘सुरुको दिन मैले बीमाको कार्ड नदेखाउँदा प्रति दिनको बेर्ड चार्ज ३०० रुपैयाँ भनियो, पछि बीमाको कार्ड देखाएपछि २ हजार रुपैयाँ बेडचार्ज लगियो,’ उनले गुनासो गर्दै भने, ‘१४ दिन अस्पतालमा बस्दा बेड चार्ज नै २८ हजार आयो,’ बीमामा छुट पाइन्छ भन्थे झन् महँगीमा परिने रहेछ।’ अस्पताल भन्छन् : यो शुल्क उनीहरूकै हो सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आवद्ध भएका अस्पतालहरूले भने यो सेवामा आवद्ध सेवाग्राहीहरूको शुल्क निर्धारण सम्बन्धित निकायले नै गर्ने गरेको बताएका छन् । ‘हाम्रो सम्झौता प्रदायक कम्पनीसँग हुँन्छ, त्यही सम्झौताअनुसार पठाएको शुल्कमा अस्पतालले सेवा दिने हो,’ वीर अस्पताल प्रशासनका एक अधिकारीले भने । उनका अनुसार सामाजिक सुरक्षा कोषले उपचारपश्चात् पैसा उपलब्ध गराएपनि स्वास्थ्य बीमाले गत आर्थिक वर्षको समेत अहिलेसम्म रकम भुक्तान गरेको छैन । वीर अस्पतालले अब बीमासँग सम्झौता गरेर काम गर्न गाह्रो भएको सुनायो । ‘हामीले कर्मचारीलाई पैसा दिनुपर्छ, औषधी खरिद गर्नुपर्छ,’ उनले भने, ‘बिरामी आउँछन् उपचार गराउँछन् अनि हामीले पैसा पाउँदैनौं भने कसरी हामी सहकार्य गरेर अघि बढ्न सक्छौं ? यस्तै हो भने ती निकायसँग सहकार्य नहुन सक्छ ।’ शिक्षण अस्पताल टिचिङको जवाफ पनि यस्तै छ । अस्पतालका प्रमुख प्रा.डा. घनश्याम गुरुङ स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषले बिरामीको उपचार शुल्क कम्पनीले निर्धारण गरी पठाउने भएकाले यसमा अस्पतालको कुनै हात नरहेको बताए । उनले भने, ‘सर्वसाधारण, योगदानकर्ता र बीमितको टिकट शुल्क फरक-फरक भएको स्वाभाविक हो । तर, योगदानकर्ता र बीमाको शुल्क उत्रबाट निर्धारण भएर आउने हो, यसमा हाम्रो हात हुँदैन,’ उनले भने । डा. गुरुङले स्वास्थ सेवामा नागरिकलाई छुट दिने भन्दै सञ्चालनमा आएका कम्पनीसँग काम गर्न समस्या भएको सुनाए । उनले ती निकायकै कारण आफूहरुलाई काम गर्न असहज भएको सुनाए । डा. गुरुङले बीमाले जे भन्यो त्यहीअनुसार चल्नु पर्ने अवस्था आएको भन्दै अब यस्तो सहकार्य दीगो नहुने बताए । ‘हामीले अस्पताल पनि बचाउनु पर्‍यो, बिरामीलाई पनि बचाउनुपर्‍यो । तर, बीमाले हामीलाई समयमा पैसा दिँदैन,’ उनी भन्छन्, ‘८/९ महिनासम्म पनि भुक्तानी नदिँदा हामीलाई काम गर्न समेत गाह्रो भइसकेको अवस्था छ ।’ व्यवहार पनि उस्तै सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमामा आवद्धलाई महँगो शुल्कमात्रै होइन व्यवहार पनि उस्तै गरिने बिरामीहरुको गुनासो छ । युनिभर्सल हेल्थ कभरेजले प्रत्येक व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यका कारण कुनै पनि व्यक्ति वा परिवार आर्थिक, सामाजिक र भौतिक रूपमा समस्या नहोस् भन्ने उद्देश्यले यी र यस्तै कोषहरू सञ्चालित छन् । तर, यसमा आवद्ध योगदानकर्ता तथा बीमितहरूले अपेक्षाकृत सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध जुनसुकै अस्पतालमा जाँदा पनि त्यहाँका कर्मचारीले कोषको साइट नचलेको भन्दै सेवामा बिलम्ब गर्ने गरेको गुनासो गरेका छन् । अन्यको तुलनामा महँगोसँगै नगद दिने बिरामीलाई उपचार तथा अन्य सेवामा अगाडि पालो दिने र कोषमा आवद्धलाई विभिन्न कारण देखाएर बिलम्ब गर्ने गरेको गुनासो उनीहरुले गरेका छन् । ‘म एक साता वीर अस्पतालमा गएर उपचार गरेँ, आफू सामाजिक सुरक्षा कोषमा आवद्ध भएको महसुस अस्पतालका बिरामीबाट भयो,’ अस्पतालको सेवा सुविधाको विषयमा जानकारी गराउँदै दिनेशले भने, ‘कहिले सिस्टममा समस्या भन्छ, कहिले स्क्यानिङ भएन भन्छ । तर, आफूसँगै लाइनमा लागेका अन्य बिरामीको काम भइरहेको हुन्छ ।’ काठमाडौं मेडिकल अस्पतालमा भेटिएकी दीपाले सामाजिक सुरक्षा कोषको कार्ड देखाउने बित्तिकै अस्पतालमा सित्तैमा उपचार गर्न आएजस्तो व्यवहार कर्मचारीले गर्ने गरेको सुनाइन् । कतिपय महँगा अस्पतालमा चिकित्सकले सामाजिक सुरक्षा कोषको बिरामीलाई नहेर्न अभ्यास पनि रहेको योगदानकर्ताहरूको गुनासो छ । ‘हामीलाई पनि गुनासो आएको छ’ सामाजिक सुरक्षा कोष समक्ष पनि अस्पतालको शुल्कको विषयमा गुनासो पुगेको छ । कोषका सूचना अधिकारी उत्तमराज नेपालले शुल्कको विषयमा सेवाग्राही गुनासो व्यापक आएको जानकारी दिए । उत्तमराज नेपाल, सूचना अधिकारी, सासु कोष । उनका अनुसार हालको कार्यविधिअनुसार नै टिकट शुल्क २०० रुपैयाँ तोकिएको हो । ‘हामीसँग पनि शुल्कमा भिन्नता भयो भनेर गुनासो आएको छ, अब हामी यो विषयको सुनुवाइ गर्छौं, अब योगदानकर्ताले २ सय रुपैयाँ तिर्नु पर्दैन, सर्वसाधारणले तिरिरहेकै मूल्यमा ८० प्रतिशत छुट दिने गरी काम गर्दैछौं,’ उनले भने । उनले कार्यविधि संशोधन गरेर भएपनि यो समस्याको सम्बोधन हुने धारणा राखे । उनले यस विषयमा आन्तरिक छलफल भइरहेको सुनाए । सेवाग्राहीले फरक व्यवहार भोग्नुपरिरहेको गुनासो पनि आउने गरेको छ, यस्तो व्यवहार कसैले कसैलाई गर्न पाइँदैन, यदि कसैले फरक व्यवहार गरेर उपचार दिन चाहेको छैन भने प्रमाणसहित हामीकहाँ आउन सक्नुहुन्छ,’ उनले भने, ‘हामी योगदानको सुविधामा कुनै कम्प्रमाइज गर्दैनौं ।’ उनका अनुसार कोषले २ सय रुपैयाँ तोकेबमोजिक दुई सय रपैयाँ टिकटको २० प्रतिशत अर्थात् ४० रुपैयाँ योगदानकर्ता र ८० प्रतिशत अर्थात् १६० रुपैयाँ कोषले अस्पताललाई तिर्ने गरेको बताए । जबकि अस्पतालमा भने बीमामा आवद्ध नभएका सर्वसाधारणको टिकट शुल्क ४० रुपैयाँमात्रै छ । सामाजिक सुरक्षा कोषले श्रमिकको आधारभूत पारिश्रमिकको एक प्रतिशत रकम जम्मा हुने औषधी उपचार स्वास्थ्य योजनाअन्तर्गत योगदानकर्ता वा योगदानकर्ताको दम्पत्ति बिरामी भई स्वास्थ्य उपचार सुविधा लिनुपर्ने भएमा भर्ना भएर गरिने उपचारमा वार्षिक एक लाख रुपैयाँसम्म र भर्ना नभई गरिने उपचारमा २५ हजार रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ । तर, यही उपचार पाउन अहिले योगदानकर्ताले ठूलो सकस बेहोर्नु परेको गुनासो आएको छ । सम्बन्धित सामग्री :  श्रमिकको पैसामा सासु कोषको रजाइँ, आर्थिक मन्दीमा ५० प्रतिशत खर्च बढाएर कर्मचारीलाई थप सुविधा सासु कोषबाट उपचार सुविधा लिनै सकस : तोकिएको अस्पतालमा पालो पाइँदैन, निजीमा गए सुविधा आउँदैन सासु कोषको पफर्मेन्सप्रति सन्तुष्ट छैन, ब्याज खाने संस्था बन्नु हुँदैन : श्रम सचिव भण्डारीसँगको कुराकानी अपमानको पराकाष्ठा : सासु कोषका योगदानकर्तालाई अस्पतालमा छुट्टै डाक्टर, विशेषज्ञलाई देखाए थप शुल्क सासु कोषको ‘ललिपप’ले सीआईटी र सञ्चय कोषको बिजनेस घट्यो, आयकर नीति सच्याउन दबाव

पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए । ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गैरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधीको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरुमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।