प्रादेशिक सेवा दिँदै बीपी कोइराला क्यान्सर अस्पताल, स्थानीय लाभान्वित

काठमाडौं ।  चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ । अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको छ । पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरिएको छ । एक पटकमा १५० हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उनले जानकारी दिए । टोलीमा  पाँच जना विशेषज्ञ चिकित्सक, दुई नर्स र एक प्रशासनिक कर्मचारी यहाँबाट जाने गर्दछन् भने अन्य सहयोग त्यहीँको अस्पतालबाट लिने गरिन्छ । स्वास्थ्य परीक्षण, नियमित जाँच र शल्यक्रियासम्म त्यहींको अस्पतालमा गर्ने गरिएको छ । जटिल अवस्था भएमा यही बोलाएर उपचार दिने गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार नाम टिपाएका बिरामीमध्ये धेरै जुन क्यान्सरका छन् त्यहीअनुसारका विभागीयविज्ञ चिकित्सक पठाउने गरिएको छ । यहाँबाट गएको टोलीले त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीसँग क्यान्सर रोग सम्बन्धमा छलफल गर्ने गरेको छ । रोग पहिचान, उपचारलगायतका बारेमा अनुभव आदानप्रदान गर्ने गरिएको उनले जानकारी दिए । पौडेलले भने, ‘सम्बन्धित अस्पतालमा भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरेर सकेसम्म त्यहाँ गर्न सकिने उपचार त्यहीँ गर्ने गरेका छाैं ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए । सोहीबमोजिम विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो ।

पाठेघरको मुखको क्यान्सर रोक्न किशोरीलाई लगाइँदै  एचपीभी खोप, १ अर्ब ३० करोड खर्च

काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले मङ्गलबारदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।   यो अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । खोप शाखाका अनुसार कक्षा ६ देखि १० मा अध्ययन गर्ने वा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार बढी किशोरीलाई यो खोप लगाइने भएको छ । फागुन ७ गते सम्म सञ्चालन हुने अभियानका लागि १ अर्ब ३० करोड खर्च हुने अनुमान गरिएको छ । । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा नेपाल सरकारले एचपीभी खोप ल्याइएको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक ४ जनाको मृत्यु हुने गर्छ भने दैनिक औसत ६ जनालाई पाठेघरको मुखको क्यान्सर देखिने गरेको अध्ययनले देखाएको छ । क्यान्सर के कारण लाग्छ भन्ने थाहा नभए पनि पाठेघरको मुखको क्यान्सर भने एचपीभी भाइरसबाट हुने चिकित्सकहरूले बताएका छन् । समयमै यसको परीक्षण गरेमा यो भाइरस शरीरमा भए/नभएको १० वर्षअघि नै थाहा पाउन सकिन्छ । समयमै पत्ता लागेमा निको बनाउन सकिने वा यसको जोखिमलाई न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।  एचपीभी खोप के हो ? ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक किसिमको भाइरस हो । जसले संक्रमण गर्दा पाठेघरको मुखको क्यान्सर हुन्छ । विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सर ९५ प्रतिशतभन्दा बढी यो भाइरसले गराउँछ । एचपीभीका दुई सय भन्दा बढी प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तीमा १२ प्रतिशतले पाठेघरको मुखको क्यान्सर गराउने गरेको पाइएको छ । यो भाइरसले सङ्क्रमण गर्दा महिलाहरूको पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमा समेत क्यान्सर बनाउने गर्छ ।  यो रोग कसरी सर्छ ? एचपीभी सर्ने मुख्य माध्यम भनेको यौन सम्पर्क हो । रोग सङ्क्रमित व्यक्‍तिसँगको यौनसम्पर्कबाट सर्छ । यो संक्रमण महिलामा मात्र नभइ पुरुषमा पनि हुन्छ ।  लक्षणहरू यो रोग लाग्दा सुरुमा धेरै लक्षणहरू देखा पर्दैन । रोग लागेको अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ । यौनाङ्ग क्यान्सर हुनुका साथै मुसा आउने गर्छ । रोग लागिसकेपछि तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, धेरै रगत बग्ने समस्या देखा पर्छ । यो रोग लागेको छ वा छैन भनेर थाहा पाउन पाठेघरको मुखको पानीको परीक्षण गरेरमात्र थाहा हुन्छ ।   

आवासीय चिकित्सकहरुद्धारा आज ओपीडी सेवा ३ घण्टा बहिस्कार

काठमाडौं । आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का अध्यक्ष डा. शेषराज घिमिरेले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने बताएका छन् । उनी भन्छन्,‘ हामीले पटक पटक मागपारिश्रमिक माग गर्यौँ, तर सरकारले हामीमाथि विभेद यथावत राख्ने योजना बनायो, यो हामीलाई सह्य छैन ।’ उनले पहिलो दिन सोमबार विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए । यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका चिकित्सकले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।