नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरे पछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए । ‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘साथसाथै निरोधात्मक विधि अन्र्तगत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’ मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको छ । यो अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताएका छन् । मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ । मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत अपिलसमेत गरेका छन् । देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरुको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यसाथ थालिएको अभियानबाट प्राप्त स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । ‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’ देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ । ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने । गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो । फागुन महिनामा पाठेघरको मुखको क्यान्सरबिरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

पोखरा ।  गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई  प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौंस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर  अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ । नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ ।  यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ । प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताए ।