पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?

काठमाडौं । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि(बुधबार) पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा १ आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका/स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका/नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्। उनका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ । “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउँछन् । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । पाखुराको नाप किन ? मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । बाल स्वास्थ्य महाशाखा प्रमुख डा. गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयमसेवीका/स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयमसेवीकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयमसेवी तथा । रासस

क्रसर उद्योगका साधनले स्वास्थ्य बिगार्न थालेपछी दाङबासीको आपत्ति

काठमाडौं। सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ । क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताए। दिनहँु करीब ५÷६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ । आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । रासस

स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै, कपिलवस्तुमा मात्रै १४ हजार आबद्ध

कपिलवस्तु । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले जानकारी दिए । कार्यक्रमबाट भदौसम्म रु ३७ लाख ७३ हजार ६२० सङ्कलन भएको दर्ता अधिकारी सुजाता महर्जनले बताए । जिल्लामा ९६ दर्ता सहयोगी परिचालित छन् । बीमा गर्नेको तथ्याङ्क हेर्दा नगरपालिकातर्फ वाणगङ्गा सबैभन्दा अगाडि रहेको छ भने कृष्णनगर र शिवराज पछाडि छन् । गाउँपालिकातर्फ विजयनगर अगाडि रहे पनि अन्य तीन गाउँपालिका शून्य प्रतिशतकै सेरोफेरोमा छन् । जिल्लामा स्थानीय दर्ता सहयोगी गाउँपालिका तथा नगरपालिकाले खुला प्रतिस्पर्धावाट राखेका हुन् । उनीहरुले आफ्नातर्फवाट पहल गरेका छन् तर जनप्रतिनिधिले जनताको स्वास्थ्यको सवाल बहसको विषय नबनाउँदा ६ महीना पुग्नै लाग्दा पनि औसत प्रगति प्रतिशत तीनभन्दा तल छ । स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु दुई हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा रु एक लाखसम्मको सेवा पाइने प्रावधान छ । कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत कस्मेटिक बाहेकका सबै प्रकारको उपचार सेवा पाउने बताइएको छ । स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधोपचार पाइने दर्ता अधिकारी महर्जनले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा उपचार नपाउने गरीब एवं विपन्न नागरिकका लागि सरकारले कपिलवस्तुमा पनि स्वास्थ्य बीमाको शुभारम्भ गरेको हो । आउँदो तीन वर्षसम्म देशका सबै नागरिकलाई ‘स्वास्थ्य बीमा कार्यक्रम’ मा समेट्ने रणनीति अनुसार कपिलवस्तुमा पनि यो कार्यक्रम शुरु गरिएको हो । तपाईँको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल उद्देश्यका साथ गरीबीको रेखामुनि रहेका अति विपन्न परिवारका व्यक्तिलाई समेत स्वास्थ्य सेवाको पहुंँचमा पु¥याउने कार्यक्रमको लक्ष्य छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था छ । सरकारले बीमा कार्यक्रममा आबद्ध सदस्यको निःशुल्क उपचारकै लागि विभिन्न जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथा निजी अस्पतालसित सम्झौतासमेत गरेको छ । रासस