रसुवामा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।  सो संस्थाले विशेषज्ञ चिकित्सक उपलब्ध गराएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ । रसुवा जिल्ला अस्पतालले सोही संस्थाको सहयोगमा १८ जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरी बच्चा पैदा गराएको जनाएको छ । विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा दासले बताए । ‘बुस्कोपान’ नामक दुखाई कम गर्ने ‘इन्जेक्सन’ दिइ काठमाडौं पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेपछि रसुवावासीको खुशीको सीमा नरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। यसैगरी पाठेघरको नलीमा गर्भ बस्न गई जोखिममा परेकी २८ वर्षीया एक महिलालाई पनि गत शुक्रबार नै सफलतापूर्वक शल्यक्रिया गरिएको रसुवा अस्पतालले जनाएको छ । रासस

बेलायती औषधि कम्पनीले बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाले आगामी ५ वर्षमा बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अन्तर्गत एस्ट्राजेनेकाले बेइजिङमा विश्वव्यापी रणनीतिक अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्नेछ । जुन विश्वव्यापी रूपमा छैटौं र चीनमा दोस्रो हो । एस्ट्राजेनेकाका सीईओ पास्कल सोरियटले लगानीले बेइजिङको विश्व–स्तरीय जीवन विज्ञान नवप्रवर्तन इकोसिस्टममा बहुराष्ट्रिय कम्पनीको विश्वासलाई प्रकाश पार्ने बताए । औषधि टाइटनले श्वासप्रश्वास र अन्य संक्रामक रोगहरूलाई लक्षित गर्ने नवीन औषधिहरू विकास, निर्माण र व्यावसायीकरण गर्न बेइजिङमा नयाँ संयुक्त उद्यम पनि गठन गर्नेछ ।

श्रम ऐनले तोकेबमोजिम तलब नदिने अस्पतालको सम्बन्धन खारेज गर्ने मन्त्री पौडेलको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था लागू नगर्नुपर्ने बताएका हुन् । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक भएपनि सुविधा भने दिन नहुने उनको भनाइ छ । उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,’ उनले भने । मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने उनको भनाइ छ । स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।