चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त

काठमाडौं । उपकुलपति रिक्त चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको हो ।  जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सञ्जीव शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डबलबहादुर धामी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पवन शर्मालाई नियुक्त गरिएको छ ।  उपकुलपति हुने मध्ये तीन जना रेक्टर तथा एकजना डिनलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।  

८ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीति अन्तर्गत संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।  उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसीयुमा नौ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ । यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।  भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।  यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।  धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।  मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पतालहरुलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए । जसअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उनले भने, ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भैरहेको छ ।’ 

४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय तत्काल लागू गर्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने भनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक सङ्घले माग गरेको छ । चिकित्सा शिक्षा आयोगको वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो । उक्त विषयमा सङ्घको आज बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले गरेको निर्णय अनुसार प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गरेको हो ।  बैठकपछि सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु ।