२४ घण्टामा थप २ सय २४ जनामा काेराेना पुष्टि, मृतकको संख्या ५६ पुग्यो

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७७१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । उनका अनुसार १२ हजार १११ जना क्वारेन्टिनमा र पाँच हजार ३१६ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार ३१६ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ जनापुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा‍. गौतमले बताए ।

गाडीवालाले सरकारको नियमलाई टेरेनन्, भाडा दोब्बर, न मुखमा मास्क न गाडीमा स्यानिटाइजर

काठमाडौं । यातायात व्यवसायीहरुले यात्रुहरुबाट  दोब्बर भाडादर लिइरहेकाे गुनासो आएकाे छ। कोरोना भाइरसको कारण उत्पन्न ४ महिना लामो लकडाउनपछि सञ्चालन भएका सार्वजनिक सवारी साधनले दोब्बर भाडा लिएको यात्रुले गुनासो गरेका हुन् । सरकारले विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी र ५० प्रतिशत बढी भाडा लिएर जिल्ला भित्रैका सवारी साधनहरु चलाउन पाइने गरी निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने गाडीमा चढ्ने यात्रुहरुबाट दोब्बर भाडा लिइरहेको गुनासाे यात्रुहरुबाट आएकाे हाे । असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको थियो । त्यो सँगै उपत्यका भित्रका तीन जिल्ला र अन्य जिल्लाहरुमा पनि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएका थिए । नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि मापदण्ड नै तयार गरेर त्यही स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सवारी साधन चलाउनु पर्ने बताएको थियो । विभागको मापदण्डमा सवारी साधनको सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउने, व्यवसायीले सगाडीमा स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने प्रावधानहरु उल्लेख गरेका छन् । मन्त्रिपरिषद्को बैठकले नै यातायात व्यवसायीहरु लकडाउनको समयमा धेरै आर्थिक संकटमा परेको भन्दै ५० प्रतिशत भाडा बढाएर गाडी सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायी अर्थात गाडीवालाहरुले भने अहिले यात्रुहरुबाट पहिलेको भन्दा दोब्बर भाडा उठाइरहेको बुझिएको छ । सार्वजनिक सवारी साधनहरुले १ किलोमिटरदेखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा लिनु पर्ने प्रावधान छ । तर, व्यवसायीहरुले यात्रुहरुबाट २५ देखि ३० रुपैयाँसम्म भाडा लिँदै आएका छन् । सीमित सवारी साधनमा सीमित यात्रुहरुबाट दोब्बर भाडा लिए पनि उनीहरुले सवारी साधनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षामा विधिहरु भने अवलम्बन गरिएको देखिँदैन । सरकारले गाडीमा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै यात्रुले मास्क लगाउनु पर्ने, गाडी चालक, सह–चालकले माक्स ग्लोभ्स लगाउनु पर्ने भनिएपनि त्यसको कार्यान्वयन भने सीमित सवारी साधनहरुमा मात्र देखिन्छ । सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको छ वा छैन भनेर नियमित अनुगमन गर्दै आएको बताए पनि ट्राफिकले पनि खासै वास्ता नगरेको सवारी साधनमा देखिएको स्वास्थ्य सुरक्षा व्यवस्थाले प्रष्ट पार्छ । महानगरीय ट्राफिक महाशाखा भने पहिले त्यस्ता खालका गुनासाहरु निरन्तर आएपनि अहिले गुनासाे गर्नेहरुकाे संख्या पनि कम हुँदै गएको बताउँछ । महाशाखाका प्रवक्ता बामदेव गौतमले अहिले ट्राफिकले सार्वजनिक सवारी साधनहरुको अनुगमनलाई तीव्रता दिएकोले सवारी साधनहरु पनि सजग हुँदै गएको बताए । ‘पहिले सवारी साधनहरुले यात्रुहरुबाट बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरु कार्यान्वयन गर्ने गरेका थिएनन्, त्यसपछि हामीले अनुगमन बढायौं, अहिले त्यसमा कमि आउँदै गएको छ,’ उनले भने । अहिले यात्रुहरुबाट त्यस्तो खालको गुनासो पनि कम आइरहेको उनको भनाई छ । सरकारले लकडाउनको अन्त्य गरेसँगै फेरि देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । त्यसमाथि पनि काठमाडौं उपत्यकामा त कोरोनाको जोखिम धेरै छ । विश्वभर कोरोनाको यति ठूलो जोखिम हुँदा हुँदै पनि बसमा चड्ने यात्रुहरुले पनि सर्तकता नअपनाएको बुझ्न सकिन्छ ।

निजी अस्पतालमा कोरोना उपचार  खुला, उपचार शुल्क दैनिक १५ हजार

काठमाडौं ।  सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् । सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि हालसम्म  मुलुकभर २५ वटा अस्पताललाई कोभिड–१९ को उपचार गर्न अनुमति दिएको थियो । यसरी उपचार गर्दा सामान्य लक्षण भएका सङ्क्रमितसँग प्रतिदिन तीन हजार ५००, मध्यम खालको अवस्था भए प्रतिदिन सात हजार रुपियाँ र जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि १५ हजार रुपियाँ शुल्क लिने गरी उपचार गर्ने व्यवस्था गरेको छ । यसैगरी कोरोना उपचारका लागि सूचीकृत नभएका अस्पताल शंकास्पद बिरामीको पिसीआर जाँच गर्नुपर्ने अवस्था भएमा तोकिएको शुल्कमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिन पाउने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षणका लागि न्यूनतम शुल्क पाँच हजार ५०० तोकिएको छ । जसअनुसार सूचीकृत नभएका निजी अस्पतालले रु ६ हजार ५० भन्दा बढी लिन पाउने छैनन् । यसरी सङ्कलित गरिएको नमूना निजी अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सूचीकृत गरिएका अस्पताल वा प्रयोगशालामा मात्र परीक्षणका लागि पठाइने छ । जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड–१९ परीक्षणका लागि सूचीकृत गरिएका प्रयोगशालालाई स्वीकृत निर्देशिकाअनुसार सशुल्क दिने व्यवस्था गरेको छ । यसैगरी परीक्षण गरिएको व्यक्तिको नतिजा तथा व्यक्तिगत विवरण व्यवस्थापन गर्नुपूर्व नै सार्वजनिक भएर सर्वसाधरणमा त्रास र रोग सार्ने सम्भावना हुने तथा सम्बन्धित सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआउनेजस्ता समस्या देखिएकोले कुनै पनि प्रयोगशालालाई विवरण सार्वजनिक नगर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले व्यक्तिको विवरण सार्वजनिक गर्ने प्रयोगशालाको कोभिड–१९ परीक्षण खारेज गर्ने बताए । उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण यसैगरी मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड–१९ को परीक्षण थालेको छ । तीन हजार ४७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरेको छ । अहिलेसम्म आठ हजार ४०१ जनाको नमूना सङ्कलन गरेको छ । रासस