मनाङमा अस्पताल पनि एउटै र चिकित्सक पनि एक जना मात्र

मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकको भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को सङ्क्रमणले अझ समस्या थपिएको छ । सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । कोरोना सङ्क्रमणको सङ्ख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी मात्रै छन् । मनाङमा भएका दक्ष जनशक्तिका रूपमा एक चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए । “कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सोअनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ”, प्रजिअ गिरी भने, “जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।” अहिले एक मात्र डा अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त छन् । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले जिल्लाको अस्पतालबाट सेवा करारका एक चिकित्सकले मात्रै दिँदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार अस्पतालमा कार्यरत चार कर्मचारी करारका छन् । जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका चिकित्सकले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन्। स्वास्थ्यका प्राय धेरैजसो कर्मचारी करारका छन् । उनका अनुसार हाल जिल्ला अस्पतालमा डा अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का छन् । रासस

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जनाकारी दिए । उनले भने, “एउटै कुरा दोहोर्याई तेहेर्याई सोच्ने, कन्भर्सन डिसअर्डर, पिटिएसडी जस्ता समस्या लिएर मानिसहरु आउन थालेका छन् ।” कतिपय मानिस मनमा तनाव हुनाले मदिरा सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा बढ्ने उनको भनाइ छ । मानसिक रोगबाट बच्न एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानी गर्दा पनि तनावमुक्त भइने सेढाइँको सुझाव छ । अहिलेको समयमा जे छ त्यसैमा सन्तुष्ट बन्न सक्ने, आफूलाई अरुसँग तुलना गर्नुपर्ने, मोबाइल फोन, फेसबुक कम प्रयोग गर्ने गर्दा मन शान्त हुने उनी सुझाउँछन् । सेढाइँले भने, “बिहानदेखि बेलुकासम्म कामको विभाजन गर्ने, समयलाई उपयोग गर्ने, खाना पकाउने, तरकारी केलाउने, करेसाबारीमा काम गर्ने, किताब पढ्ने जस्ता कामहरु गर्नुपर्छ ।” खाना खाने, सुत्ने समय एकनासको बनाउने, अनावश्यक समाचारमा विश्वास नगर्ने, कुलतमा नफस्ने, मनोबल उच्च राख्ने र सन्तुलित भोजन खाने गर्नाले मानसिक समस्याबाट वञ्चित भइने सेढाइँले जानकारी दिए । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जाँदा आइसोलेसनमा बस्नेहरुमा मानसिक समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई मानसिक समस्या नआउने गरी स्वास्थ्यमा ध्यान दिनुपर्ने चिकित्सकहको सुझाव छ । कोरोना सङ्क्रमणलाई त्रासको रूपमा नहेरेर सावधानी अपनाएर उच्च मनोबलका साथ बसेमा रोग जित्न र लाग्न नदिन सहयोग पुग्ने विज्ञहरुको सुझाव छ । रासस

सरोकारवालाहरू भन्छन्- सरकारको व्यवस्थापकीय कमजोरीका कारण संक्रमणको जोखिम बढ्दै गयाे

काठमाडौं । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि विधानका कारण संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाई छ । नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले प्रयोगशाला स्थापना भएपछि ल्याबको गुणस्तर जाँचमा सरकारले ध्यान नदिएको गुनासो गरे । संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा उनले महिनामा एक वा दुई पटक स्थलगत निरीक्षण गरी गुणस्तर मापन गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । कुनै एक प्रयोगशालामा रिपोर्ट पोजेटिभ आउने र अर्को प्रयोगशालामा सोही स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने समस्या पनि गुणस्तर मापनकै कारण देखिएको उनको भनाई छ । सरकारले सहि व्यवस्थापन गर्न सके आज स्वाव संकलन गरी भोली नै रिपोर्ट दिने सकिने अवस्था रहेको उनले बताए । सरकारी निकायहरुमा विज्ञहरुका कुरा नसुन्ने समस्याले व्यवस्थापनमा चुनौती हुने उनले बताए । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कोरोना महामारी सुरु भएको लामो समय वितिसक्दा पनि नेपाल सरकारले आवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापनका लागि कुनै संयन्त्र बनाउन नसकेको बताए । बजेट र जनशक्ति पर्याप्त हुँदहुँदै पनि अहिले प्रयोग भइरहेका स्वास्थ्य सामग्रीहरुको गुणस्तर मापनका लागि सरकारको ध्यान जान नसकेको उनले बताए । सरकारले उत्पादित जनशक्ति व्यवस्थापन भन्दापनि उनीहरुलाई स्वयमसेवी रुपमा काम लगाउने नीति अघि सारेको भन्दै उनले असन्तुष्टि जनाए । नेपालमा दर्ता भएका स्वास्थ्य क्षेत्रको जनशक्ति प्रयाप्त रहेपनि सरकारले उचित सेवा सुविधा सहित व्यवस्थापन गर्न नसके भोली समस्या हुनेतर्फ उनले सचेत गराए । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष गोमा देवी निरौलाले दैनिक १२ घण्टासम्म विरामीको हेरचाहमा खटिने नर्सहरुको सुरक्षाको विषयमा राज्यले ध्यान दिन नसकेको बताए । ढोकाबाटै विरामीको अवस्था बुझ्ने डाक्टरभन्दा महामारीको समयमा १२ घण्टा विरामीसँगै रहने नर्सहरु बढी जोखिममा रहेपनि सरकारले उनीहरुको सुरक्षातर्फ ध्यान दिन नसकेको उनले बताए । उपसमितिको छलफलमा सरोकारवालहरुले पीपीइको उचित व्यवस्थापन, गुणस्तरिय स्वास्थ्य सामग्रीको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा नभए सबैतिर जनशक्ति अभाव हुन सक्ने तर्फ सरकार सचेत हुनुपर्ने बताएका छन् । उपसमिति संयोजक जीवनराम श्रेष्ठले छलफलमा उठेका विषयहरुमा सरकारको ध्यानाकर्षण गराउने बताए ।